काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १३ बोनस सेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको भन्दा १ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ११ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ भने बोनस वितरणपछि चुक्ता पूँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ पुग्नेछ ।