काठमाडौं । आर्थिक वर्ष २०७५/७६ सालमा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ व्यापार घाटा भएको छ । चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा १३.५५ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जानकारी दिएको छ ।
उक्त आर्थिक वर्षमा १४ खर्ब १८ अर्ब ५३ करोड ५४ लाख रुपैयाँ आयातका क्रममा बाहिरिन पुगेको छ । नेपालबाट ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको सामाग्री बाहिर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७४/७५ सालमा नेपालको व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ रहेको छ । सो वर्ष १२ खर्ब ४५ अर्ब १० करोड ३२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको थियो । ८१ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ बराबरको निर्यात रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७३/७४ सालमा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने ७३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार तथ्यांकले देखाउछ । सो वर्ष ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख रुपैयाँ व्यापार घाटा भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७२/७३ सालमा ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने ७० अर्ब २५ करोड ४१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो विभागको तथ्यांकले देखाएको छ । ७ खर्ब ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ व्यापार घाटा भएको थियो ।
२०७१/७२ सालमा ७ खर्बको व्यापार घाटा भएको थियो । सो वर्ष ७ खर्ब ८६ अर्ब १९ करोड १४ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको थियो भने ८५ अर्ब १९ करोड ४७ लाख रुपैयाँ बराबरको सामाग्री निर्यात भएको थियो ।
२०६७/६८ सालबाट लगातार ४ वर्ष बढ्दै गएको निर्यात २०७१/७२ सालमा आएर घट्न थालेको हो । २०७१/७२ साल र २०७२/७३ सालमा लगातार घटेको निर्यात २०७३/७४ सालबाट बढ्न थालेको भन्सार विभागको तथ्यांकले देखाउछ ।
आर्थिक वर्ष २०६७/६८ सालमा ६२ अर्ब रुपैयाँ, २०६८/६९ सालमा ७२ अर्ब रुपैयाँ, २०६९/७० सालमा ७७ अर्ब र २०७०/७१ सालमा ८९ अर्ब रुपैयाँसम्मको निर्यात क्रमशः बढ्ने क्रममा थियो ।
त्यसपछि २०७१/७२ सालमा एक्कासी ४ अर्बले निर्यात घटेर ८५ अर्ब रुपैयाँको निर्यात भएको थियो । २०७२/७३ सालमा ७० अर्ब रुपैयाँको निर्यात भएको थियो । त्यसपछि क्रमस ७३ अर्ब, ८१ अर्ब र हाल आएर ९७ अर्ब रुपैयाँको निर्यात तथ्यांकले देखाएको छ ।