आत्मनिर्भर उन्मुख जुत्ता उद्योग गम्भीर संकटमा, राज्यले सहजीकरण नगरे २० अर्ब लगानी डुब्ने खतरा

काठमाडौं । आत्मनिर्भर बन्दै गरेको जुत्ता उद्योगहरू संकटमा पर्दै गएका छन् । करिब ६ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएका उद्योग अहिले कच्चा पदार्थ, जनशक्ति अभाव लगायत कारणले संकटमा फसेका हुन् ।

 

केही जनशक्ति उपलब्ध भए पनि अहिले कच्चा पदार्थ आयात हुन नसक्दा अधिकांश उद्योगहरू पूर्णरूपमा संचालनमा आउन सकेका छैनन् । जुत्ता उत्पादक उद्योग महासंघका अध्यक्ष कृष्णकुमार फुयालका अनुसार छालाका कच्चा पदार्थ आयातमा असहज हुँदा उद्योगीहरूले जनशक्ति भए पनि काम गर्न पाएका छैनन् ।

 

उनले भारतबाट आउने कच्चा पदार्थ आयात भए पनि चीनबाट आउने कच्चा पदार्थ नाकामै रोकिएको बताए । सो कच्चा पदार्थहरू आयात नहुँदा त्यसको प्रयोग अवधि सकिने, कुहिने तथा प्रयोगहीन हुने सम्भावना रहेको उनले बताए ।

 

अहिले नेपाली जुत्ता उद्योगमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । कोरोनाका कारण ६ महिना उद्योगहरू पूर्ण बन्द हुँदा ५० प्रतिशत नोक्सान व्यहोरीसकेको र अब पनि उद्योगहरूलाई पुनः सञ्चालन गर्न राज्यले सहजीकरण र राहतको व्यवस्था नगरे अधिकांश उद्योग सधैंका लागि बन्द हुने व्यवसायीको भनाइ छ ।

 

गत माघमा अर्डर भएका कच्चा पदार्थहरू चैत्रमा चीनको सीमा नाकामा अड्किएको उनले बताए । सो कच्चा पदार्थहरू आयात गर्न अझै नाका खुल्ला नगर्दा कच्चा पदार्थको म्याद सकिने सम्भावना रहेको उनले बताए ।

 

उनले जनशक्ति पर्याप्त नभएको र जनशक्ति भएका उद्योगहरूमा कच्चा पदार्थ कमीका कारण उद्योगहरू पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताए । पछिल्लो समय उद्योगहरूमा २० देखि २५ प्रतिशत मात्र काम भइरहेको उनको भनाइ छ । ‘उद्योगहरू पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् २० देखि २५ प्रतिशत कामहरू भइरहेका छन्,’ उनले चाणक्य पोष्टसँग भने ।

 

सरकारले सहज आपूर्तिको व्यवस्था गरे जुत्ता उत्पादन उद्योगहरू समेत पूर्णरूपमा सञ्चालनमा आउन सक्ने उनले बताए ।

 

‘अहिलेको संटकलाई उद्योगहरूले पूर्ण आत्मनिर्भर हुने अवसरको रूपमा लिनुपर्छ’

 

फुयाल अहिलेको महामारीको संटकलाई उद्योगहरूले पूर्ण आत्मनिर्भर हुने अवसरको रूपमा लिनुपर्ने बताउँछन् । अबको समयमा आन्तरिक कच्चा पदार्थ प्रयोग बढाउनु पर्ने र आयात बिना नहुने कच्चा पदार्थहरूलाई कम प्रयोग गर्नु पर्ने उनले बताए ।

 

‘हामी यसलाई अवसरको रूपमा लिएर स्वदेशी वस्तुबाटै जुत्ता उत्पादन गर्ने कोशिसमा छौं,’ उनले भने ‘यसलाई संकट मानेर उद्योग बन्द गर्ने भन्दा आन्तरिक कच्चा पदार्थ प्रयोग गरी उद्योग अघि बढाउन सके पछि आयात गरिरख्नु पर्दैन ।’ कतिपय कच्चा पदार्थ आयात भए पनि जनशक्ति नहुँदा उद्योगमै थन्किएकाले प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

जुत्ता उद्योगमा २० अर्ब बढी लगानी रहेको छ । ६ देखि ७ महिना उद्योगहरू पूर्ण ठप्प अवस्थामा रहदा ५० प्रतिशत बढी क्षति बेहोर्नु परेको उनको दाबी छ । यस क्षेत्रमा १५०० बढी उद्योगहरू रहेका छन् । कतिपय उद्योगहरू ७ महिना बन्द हुँदा बन्द हुने अवस्थामा रहेको उनले बताए ।

 

उनले अबको समयमा सरकारले सहज वातावरण बनाउनु पर्ने बताए । उद्योग, डिलर वा विक्रेता पसल मात्र खोलेर नहुने भन्दै उनले एकै साथ सबै सञ्चालन गर्न पाउने अवस्था हुनु पर्यो । ‘अहिले विक्रेता पसल र डिलर खुल्ला छ तर, उद्योग पूर्णरूपमा सञ्चालन भएका छैनन्, सामग्री उत्पादन हुन सकेको छैन डिलरलाई के पठाउने ? विक्रेताले के बेच्छन् ?’ फुयालले भने ।

 

यस्तै, शुभकामना फुटवेयर प्रोडकका सञ्चालक तथा जुत्ता उत्पादक महासंघका उपाध्यक्ष नानीराज घिमिरे आफ्नो उद्योगमा आवश्यक पर्ने २ कन्टेनर जुत्ताका कच्चा पदार्थहरू चीनको भन्सारका रोकिएको बताए । गत २०१९ को डिसेम्बर देखि रोकिएको उक्त कच्चा पदार्थ झण्र्ड १० महिनादेखि रोकिएर बसेको हो ।

 

उनले सो कन्टेनरमा ५० हजार जोर जुत्ताको कच्चा पदार्थ रोकिएको बताए । एउटा जत्ता उत्पादन गर्न ४७ प्रकारका कच्चा पदार्थ आवश्यक पर्ने हुन्छ । एउटा कच्चा पदार्थ नहुँदा समेत जुत्ता बन्न सक्दैन ।

 

उनका अनुसार दैनिक ५०० जोर जुत्ता उत्पादन गर्ने क्षमता भएको उनको उद्योगले पछिल्लो समय १०० जोर मात्र जुत्ता उत्पादन गरिरहेको छ । उनले आफ्नो उद्योगको क्षमताभन्दा २० देखि २५ प्रतिशत मात्र काम भइरहेको बताए । दैनिक ३ लाख ५० हजार कच्चा पदार्थ प्रयोग हुने सो उद्योगमा पछिललो समय उनले १ लाख बराबरको कच्चा पदार्थ प्रयोग गर्दै आएका छन् ।

 

चीनको भन्सारबाट एक कन्टेनर कच्चा पदार्थ आयात गर्न गाडी भाडा मात्र ५ लाख २५ हजार लाग्ने गरेको उनले बताए । उनी मात्र नभई अन्य जुत्ता उत्पादक उद्योगीहरूको समेत सामग्रीहरू भन्सारमै अड्किएको अवस्था छ ।

 

जुत्ता उत्पादनका लागि ४७ प्रकारका कच्चा पदार्थ आयात गर्नु पर्ने भएकाले अहिले त्यो आयात हुन नसक्दा जनशक्ति उपलब्ध भए पनि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

 

उनले सरकारले पहल नगर्दा १० महिनादेखि भन्सारमा रोकिएका कच्चा पदार्थ ल्याउन नसकिएको बताए । ‘हाम्रो सामान झण्डै १० महिनादेखि अड्केको छ, राज्यको तर्फबाट पहल भएको छैन,’ उनले चाणक्य पोष्टसँग भने ‘सरकारले कच्चा पदार्थ मात्र आयात गर्न सहजीकरण गरिदिएको भए कुनै समस्या हुँदैन थियो ।’

 

यस्तै, रसुवागढी भन्सार प्रमुख पूण्यविक्रम खड्काका अनुसार हिजो असोज ७ गतेबाट रसुवागडी भन्सार खुल्ला गरिएको छ । हिजोको दिनमा एउटा मात्र कन्टेनर नेपाल प्रदेश गरेको थियो । उनले पछिल्लो समय लगातार पानी परिरहेकाले भन्सारबाट गाडी लान नदिइएको बताए ।

 

तातोपानी भन्सारमा ताल फुट्ने डरले अझै पनि नाका खुल्ला गर्न नसकिएको उनले बताए । ‘रसुवाको नाका खुलीसक्यो, पानी लगातार परेकाले गाडी लान सकिएको छैन, तातो पानीमा ताल फुटने डरले अझै नाका खुल्न दिइएको छैन, मौसमले साथ दियो भने त्यो पनि छिटै खुल्ला गरिने छ,’ प्रमख खड्काले चाणक्य पोष्टसँग भने ।

 

हाल रसुवा भन्सारमा १२०० बढी कन्टेनर रोकिएका छन् । तातोपानी नाकामा डेढ सय हाराहारीमा कन्टेनर रोकिएको उनले जानकारी दिए ।

 

राज्यले सहजीकरण गरे ७० प्रतिशत कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिन्छ

 

नेपालमा ७ वर्ष अघि १० प्रतिशत जुत्ताका कच्चा पदार्थ पाइन्थ्यो भने । अहिलेसम्म आइपुग्दा ३५ प्रतिशत कच्चा पदार्थ नेपालमै पाइने अवस्था छ । शुभकामना फुटवेर प्रोडकका सञ्चालक घिमिरे सरकारले सहज वातावरण सृजना गरे आगामी डेढ वर्षमा ७० प्रतिशत कच्चा पदार्थ नेपालमै सजिलै उत्पादन गर्न सकिने बताउछन् ।

 

एउटा जुत्ता बनाउन ४७ प्रकारका कच्चा पदार्थ पाइनेमा धेरै कच्चा पदार्थ आयात गर्नु पर्दा एउटा कच्चा पदार्थ अभावमा जुत्ता तयार हुन नसक्ने बताए । ‘सरकारले दक्षजनशक्ति उत्पादन, पूँजी व्यवस्थापन र कच्चा पदार्थ आपूर्तिमा सहयोग गरे हामी जुत्ता उत्पादनमा चाँडै आत्मनिर्भर हुन सक्ने छौँ,’ शुभकामना फुटवेरका सञ्चालक घिमिरेले भने ।

 

रज्यले जुत्तामा आत्मनिभर हुनका लागि राम्रो वातावरण मात्र सृजना गर्न सके जनशक्ति समेत उद्योगी आफैले उत्पादन गर्ने बताए । उनले सरकारले जुत्ता उत्पादन उद्योगीहरूलाई पछाडि पारेर परनिर्भरतातर्फ मात्र लागेको आरोप लगाए । सरकारले अहिलेसम्म जुत्ता उत्पादन गर्ने उद्योगहरूको कुनै क्षतिको तर्जुमा गरेको छैन । उनीहरूलाई क्षतिपूर्र्ति वा राहतको व्यवस्था गरेको छैन ।

 

चालू आर्थिक वर्षको साउन महिनामा मात्र २२ करोड ५५ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल तथा त्यसका कच्चा पदार्थहरू आयात भएका छन् । गत आर्थिक वर्षको साउनमा ७५ करोड ६५ लाख रुपैयाँ बराबरको जुत्ता, चप्पल तथा कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

गत आर्थिक वर्षमा कुल ५ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बराबरको जुत्ता तथा कच्चा पदार्थ आयात भएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा कुल ७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको थियो ।

लघुवित्तलाई लाभांश वितरणमा राष्ट्र बैंकको अंकुश Read Previous

लघुवित्तलाई लाभांश वितरणमा राष्ट्र बैंकको अंकुश

दूर्गममा द्रुतगतिको इन्टरनेट विस्तार गर्दै टेलिकम, डोटीमा एफटीटीएच सेवा शुरु Read Next

दूर्गममा द्रुतगतिको इन्टरनेट विस्तार गर्दै टेलिकम, डोटीमा एफटीटीएच सेवा शुरु