काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई लाभांश वितरणमा कडाई गरेको छ ।
राष्ट्र बैंकले सर्कुलर जारी गर्दैै न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेका लघुवित्तहरुलाई लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको हो ।
यससँगै अब लघुवित्त संस्थाले आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसके नगद तथा बोनस सेयर लाभांश वितरण गर्न नपाउने भएका हुन् । अर्थात् अब लघुवित्त संस्थाहरुले लाभांश वितरण गर्न सधैं न्यूनतम पूँजीकोष अनुपात कायम गर्नुपर्ने भएको छ ।
यसअघि आर्थिक वर्षको बीचमा पूँजीकोष अनुपात कायम नभएपनि वर्षको अन्त्यमा अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद कायम गरेमा नगद तथा बोनस सेयर लाभांश वितरण गर्न पाइने व्यवस्था थियो ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले अब लघुवित्त संस्थाहरुले न्यूनतम पूँजीकोष कायम गरेपछि मात्रै नगद तथा बोनस सेयर लाभांश वितरण गर्न पाउनेछन् ।
