काठमाडौं । २२ दिनदेखि बन्द रसुवागढी भन्सार नाका खुलेकोे छ । पछिल्लो समय भदौं १७ गतेदेखि बन्द भन्सार आजदेखि खुलेको हो ।
रसुवागढी नाका गत माघ १५ देखि बन्द रहेको भन्सार असार २२ गतेदेखि खुले पनि कोरोनाको जोखिब बढेको भन्दै पुनः भदौ १७ बाट बन्द गरिएको थियो ।
रसुवागढी भन्सार प्रमुख पूण्यविक्रम घिमिरेका अनुसार बीचमा असार २२ गतेबाट भन्सार खुल्दा दैनिक ४ वटा कन्टेनर नेपाल भित्राइएको थियो । फेरि त्यसपछि भदौ १७ बाट रसुवागढी नाका बन्द गरिएको थियो । त्यस लगतै असोज ७ गते (हिजो) बाट नाका खुल्ला भएको छ । नाका खुल्ला भएपछि एउटा मात्र कन्टेनर नेपाल प्रवेश गरेको घिमिरेले जानकारी दिए ।
पछिल्लो समय दशैंलाई लक्षित गरेर ल्याइएका कपडा लगायत सामान भन्सारमै रोकिँदा व्यवसायी अर्बौं लगानी डुब्ने चिन्तामा रहेका थिए । सिजन सकिएपछि सामान आइपुग्दा व्यापार नहुने भएकाले अब दशैं अगाडि नै सम्पूर्ण सामान ल्याइसक्नु पर्ने व्यापारीहरुको भनाइ छ ।
उनले पछिल्लो समय नेपालमा लगातार वर्षा भएका कारण कन्टेनरहरू उतै भन्सारमा अड्कीएर बसेको बताए ।‘असोज ७ गतेदेखि चीन तर्फको रसुवागढी भन्सार खुलेको छ, हिजो मात्र एउटा कन्टेनर आएको छ, अन्य कन्टेनर लगातार वर्षाका कारण रोकिएका छन्, ती पनि मौसम अनुकूल भएसम्म छिटै नेपाल भित्रिने छन्,’ भन्सार प्रमुख घिमिरेले चाणक्य पोष्टसँग भने ।
यस्तै, तातो पानी भन्सारमा ताल फुट्ने डरले चीन तर्फबाट अझै खुल्ला गर्न नसकिएको उनले बताए । तातोपानी भन्सार नाका २०७७ असार २४ गतेबाट सडकमा पहिरो गएका कारण बन्द अवस्थामा रहेको छ । त्यस यता नाका खुल्ला गर्न विभिन्न पहल भए पनि तातोपानीको ताल फुट्ने सम्भावना भएको भन्दै चीनबाट खुला गर्न दिइएको छैन ।
रसुवागढी भन्सारमा १२ सय हाराहारीमा कन्टेनर थन्केर बसेका छन् । तातोपानी भन्सारमा डेढ सय बढी कन्टेनर अड्केका छन् ।