केपी ओली र युवराज खतिवडा त आफ्ना वाचामा सफल भए, एक पटक आफ्नै चेतनास्तर बारे चाहिँ सोच्ने कि
ब्रबिम बिक्रम थापा
प्रकाशित : 3:46 pm, आइतबार, असोज ४, २०७७

युवराज खतिवडा अढाइ वर्षअघि अर्थमन्त्रीको रूपमा आए । खुब चर्चा पाए । ‘विज्ञ’ अर्थमन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी पाएकोमा सञ्चार माध्यमहरू र सामान्य मानिसहरू धेरै खुसी भए । हालै उनी अर्थमन्त्रीबाट बाहिरिए, नेकपाको आन्तरिक शक्ति सन्तुलनको कारण । त्यो समय उनको ‘विज्ञता’ले नेपालको अर्थतन्त्र लाभान्वित नभएको र उनमा रहेको भनिएको इमान पनि भुईंमा बजारिदाँ तिनै मानिसहरू धेरै निराश भए ।

 

अहिले फेरि उनी प्रधानमन्त्रीको ‘इगो’को रक्षार्थ घुमाउरो बाटोबाट फेरि अर्थमन्त्रीको भूमिकामा आएका छन् । अब यसरी घुमाउरो बाटोबाट आएका अर्थमन्त्रीले देशको अर्थतन्त्र कसरी चलाउनलान् भनेर विभिन्न ढंगले बहस हुन थालेका छन् । यो बहस गर्ने मानिसहरू पनि तिनै हुन्, जसले उनको विज्ञताको गुणगान गाए ।

 

यहाँ ओलीलाई सबै दुर्गतिबाट उन्मुक्ति दिने प्रयास गरिएको होइन । तर, जब नागरिकको रूपमा हामी चेतनाको विकास गर्दैनौ, मिडियाको रूपमा परिपक्व बनेर सरकारलाइ सही बाटोमा हिँड्नका लागि दवाव सृजना गर्न पनि सक्दैनौं, राज्य र जनता बीचको द्धन्द्धात्मक सम्बन्ध बुझ्दैनौं र चमत्कारको मात्र अपेक्षा राख्छौं भने निराशा बाहेक के नै पो हात लाग्ला र ?

 

वास्तवमा अहिले नेपालमा जस्तो किसिमको आर्थिक संरचना विद्यमान छ, त्यस्तोमा नेपालमा को अर्थमन्त्री भएर आयो, को गयो इत्यादि कुराले फरक पार्ने भनेको सहर बजारका केही सिमित मानिसहरूलाई मात्र हो । त्यस्ता मानिसहरू करिब १२–१५ लाख होलान् भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ । बाँकी मानिसहरू नेपालको आर्थिक संरचनाबाट बाहिर छन् । अर्थमन्त्रीले लिने सामान्य आर्थिक नीतिहरूले उनीहरूलाई छुँदैन । उनीहरू नेपालको आर्थिक स्रोतको लाभांशबाट वञ्चित गरिएका छन् ।

 

यी मानिसहरूले युवराज खतिवडा अर्थमन्त्री हुँदा उनीबाट के अपेक्षा गरेका थिए ? यिनीहरू पछि फेरि किन उनीबाट निराश भए ? खतिवडामा रहेको उनीहरूले बुझेको ‘बिज्ञता’ के थियो ? के खतिवडाले साँच्चै उनीहरूको अपेक्षा पूरा नगरेका हुन् ? वा, यी मानिसहरूको अपेक्षा नै पो गलत ठाउँमा थियो कि ? यो लेखमा यस्तै प्रश्नहरूको सेरोफेरोमा रहेर केही सामान्य चर्चा गरिनेछ ।

 

 

त्यो भन्दा पहिले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको केही चर्चा गरौं ।

 

नेपालमा मानिसहरू प्रति विभिन्न खाले ठूला अपेक्षाहरू राख्ने कुरा नौलो होइन । इतिहासका विभिन्न कालखण्डमा राजा महेन्द्र, पुष्पकमल दाहाल, खड्गप्रसाद शर्मा ओली लगायतसँग मानिसहरूले ठूला अपेक्षा राखेका थिए । हामीलाई व्यक्ति विशेषले गर्दिने चमत्कार हेर्ने रहर छ ।

 

अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको कुरा गर्दा यी १२-१५ लाख मानिसहरूले उनीसँग जस्तो किसिमको अपेक्षा राखेका थिए, उनी वास्तवमा त्यसमा खरो उत्रेका छन् । उनले दायाँबायाँ गरेकै छैनन् ।

 

उनीबाट ती मानिसहरूले ३ वटा अपेक्षा राखेका थिए । पहिलो राष्ट्रवाद (राष्ट्रप्रेम होइन), दोस्रो स्थायी सरकार र तेस्रो ‘विकास’ ।

 

ओली राष्ट्रवादमा खरो उत्रिएका छन् । राष्ट्रवादी हुनका लागि ‘शत्रु’ खडा गरिनु पर्छ । उनले पछिल्लो समय भारतसँग विभिन्न भाषामा निउँ खोजेर आफ्नो राष्ट्रवादी छवीलाई बरकरार नै राखेका छन् । यसैबीच उनले नक्सामा अर्को ‘घोचो’ थपेर जारी पनि गरिसकेका छन् । यसको मतलब उनी मानिसहरूको अपेक्षा अनुरूप आफ्नो राष्ट्रवादी छवीमा अडिग छन् । अब मानिसहरूले ‘राष्ट्रप्रेम’ र ‘राष्ट्रवाद’को बारेमा भेद नछुट्टयाई अपेक्षा राख्छन् भने ओलीको के दोष ?

 

मानिसहरूको अपेक्षा अनुरूप स्थायी सरकार चलाइराख्नका लागि पनि ओली तल्लिन नै भएर लागेका छन् । यसका लागि उनले आफ्नो पार्टीको ठूलो दवाव थेगे । जनताको अपेक्षा अनुरूप स्थायी सरकारको लागि भनेरै कोरोना महामारीको समयमा पनि अर्काको पार्टी फोरेर भए पनि सरकार गिर्न नदिन र पार्टीको दवाव मत्थर पार्न भनेर विद्येयकहरू ल्याए । अब हामी व्यवस्था पो तुलनात्मक रूपमा स्थायी हुनुपर्छ, सरकार त अस्थायी हुनुपर्छ वा कामको मूल्याङ्कनका आधारमा सहजै परिर्वतन गर्न मिल्ने खाले हुनुपर्छ भन्ने बुझ्दैनौं भने त्यसलाई ओलीको कमजोरीको रूपमा कसरी हेर्न मिल्छ ?

 

ओली राष्ट्रवादमा खरो उत्रिएका छन् । राष्ट्रवादी हुनका लागि ‘शत्रु’ खडा गरिनु पर्छ । उनले पछिल्लो समय भारतसँग विभिन्न भाषामा निउँ खोजेर आफ्नो राष्ट्रवादी छवीलाई बरकरार नै राखेका छन् । यसैबीच उनले नक्सामा अर्को ‘घोचो’ थपेर जारी पनि गरिसकेका छन् । यसको मतलब उनी मानिसहरूको अपेक्षा अनुरूप आफ्नो राष्ट्रवादी छवीमा अडिग छन् । अब मानिसहरूले ‘राष्ट्रप्रेम’ र ‘राष्ट्रवाद’को बारेमा भेद नछुट्टयाई अपेक्षा राख्छन् भने ओलीको के दोष ?

 

हाम्रै इच्छा अनुरूप ओली अहिले ‘विकास’ पनि गरिरहेका छन् । हामीलाई चढ्न साह्रै रहर लागेको रेल उनले चल्तीको भन्दा बढी पैसा तिरेरै भएपनि ल्याइसके । अन्य ठाउँमा पनि रेल गुडाउनका लागि ठेक्का आह्वान गरिसकिएको छन् । विभिन्न ठाउँहरूमा भ्यू टावरहरू बनिरहेका छन् । बाटोघाटो फराकिलो पारिएकै छन् । हामीलाई हेर्न रहर लागेको फ्लाइ ओभरहरू पनि बनाउने भन्दैछन् । विमानस्थल बनाउनका लागि रूख काट्ने प्रक्रिया पनि अघि बढाए कै छन् । पानीजहाज कार्यालय खुलिसकेको अवस्था छ । हाम्रै इच्छा अनुसार ओलीले ‘विकास’ गरिरहेकै छन् त ! अब हामी नै विकास भनेको समग्र आर्थिक, राजनीतिक र समाजिक प्रक्रिया र उपलब्धी हो, यो प्राप्त गर्नका लागि व्यापक जनसहभागीता चाहिन्छ, विकास भनेको कसैले कसैका लागि गर्दिने भौतिक परिर्वतन होइन भनेर बुझ्दै नबुझि अपेक्षा राख्छौ भने त्यसमा ओलीले के गर्न सक्छन् ?

 

समग्रमाभन्दा प्रधानमन्त्री ओलीले सहर–बजारका हामी केही मानिसहरू र सञ्चारमाध्यमहरू कै समष्टिगत अपेक्षा अनुरूप काम गरिरहे कै छन् । तर, हाम्रा अपेक्षा अनुरूप नै काम गर्दा पनि जब देशका मूल समस्याहरू समाधान हुँदैन भने हामी अत्तालिन्छौं, आफैं प्रति फर्केर आफ्नो चेतना उकास्ने प्रयास गर्नुभन्दा पनि अरूलाई नै दोष थोपरेर उम्कन खोज्छौं ।

 

यहाँ ओलीलाई सबै दुर्गतिबाट उन्मुक्ति दिने प्रयास गरिएको होइन । तर, जब नागरिकको रूपमा हामी चेतनाको विकास गर्दैनौ, मिडियाको रूपमा परिपक्व बनेर सरकारलाइ सही बाटोमा हिँड्नका लागि दवाव सृजना गर्न पनि सक्दैनौं, राज्य र जनता बीचको द्धन्द्धात्मक सम्बन्ध बुझ्दैनौं र चमत्कारको मात्र अपेक्षा राख्छौं भने निराशा बाहेक के नै पो हात लाग्ला र ?

 

अहिलेका ‘डिफ्याक्टो’ अर्थमन्त्री युवराज खतिवडाको पनि कुरा ठ्याक्कै त्यस्तै हो । हामीले उनको प्राज्ञिक पृष्ठभूमि, राष्ट्र बैंक र योजना आयोग जस्ता संस्थाहरूमा जागिर खाएको अनुभवको आधारमा आफ्नै ढंगले ‘विज्ञ’ मान्यौं र आफ्ना अपेक्षाहरू बढायौं ।

 

तर, अर्थतन्त्र भनेको त्यति मात्र होइन । अर्थतन्त्र भनेको बैंकको ब्याजदर, मुद्रा व्यवस्थापन, पूँजी बजार, आयात-निर्यात, राजश्व संकलन इत्यादि मात्र होइन । यी विषयहरूले त माथि उल्लेख गरिए जस्तै १२–१५ लाख मानिसहरूलाई मात्र छुन्छ ।

 

नेपालको सन्दर्भमा अर्थतन्त्र भनेको आधारभूत रूपमा उत्पादन र वितरणसँग जोडिएको बृहत् विषय हो । यसका राजनीतिक र सामाजिक आयामहरू छन् ।

 

उत्पादनको सन्दर्भमा कुरा गर्दा उत्पादनको साधन कसको हातमा रहने वा नरहने भन्ने निर्क्योल गर्ने जब्बर सामाजिक संरचना नेपालमा विद्यमान छ । कुनै समय उत्पादनको साधन जमिन थियो भने अहिले आएर पूँजी भएको छ । तर, यस्ता उत्पादनका साधनहरू कोसँग रहने र कोसँग नरहने भन्ने तय गर्ने सामाजिक र राजनीतिक संरचना नेपालमा विद्यमान छ । नेपालको अर्थतन्त्रमा संरचनागत सुधारहरू गरेर समग्र मुलुकलाई आर्थिक समृद्धितर्फ दोहोर्याउनका लागि यस्ता सामाजिक र राजनीतिक संरचनाहरू भत्काउन जरुरी हुन्छ । त्यसैले नेपालको अर्थतन्त्र बहुआयामिक छ । सिङ्गापुर, मलेसिया वा अन्य विकसित देशहरूको जस्तो एकाङ्की खाले अर्थतन्त्र होइन नेपालको अर्थतन्त्र ।

 

अब हामीले नेपालको अर्थतन्त्रलाई समग्रतामा बुझेनौं, सामान्य प्राविधिक ‘एक्पोजर’ लाई देशको आर्थिक संरचना नै बदल्ने ल्याकत राख्ने ‘विज्ञता’को रूपमा बुझ्यौं, मुलुकको अर्थ-राजनीतिलाई वेवास्ता गर्दै अंक गणिततर्फ लहसियौं भने यसमा खतिवडाको के दोष ?

 

उत्पादन पछिको वितरण पनि अर्थतन्त्रको अर्को हिस्सा हो । देशका सबै तह र तप्काका मानिसहरूका असीमित आवश्यकताहरू छन् तर साधन र स्रोत भने सीमित छन् । यस्ता साधन र स्रोतको सबै तह र तप्काका मानिसहरू माझ न्यायोचित वितरणका लागि पनि नेपालको त्यही सामाजिक र राजनीतिक संरचना बाधक छ । साधन र स्रोतको न्यायोचित वितरण (शिक्षा, स्वास्थ्य, रोजगारी इत्यादि क्षेत्रमा) गरी अर्थतन्त्रलाई प्रभावकारी बनाउनका लागि पनि यस्ता संरचनाहरू भत्काउन जरुरी छ । नयाँ आर्थिक संरचनाहरू बनाउन जरुरी छ ।

 

के हामीले अर्थतन्त्रलाई यही रूपमा बुझेर खतिवडा माथि अपेक्षा गरेका थियौं त ? के यस्ता सामाजिक र राजनीतिक संरचनाहरू भत्काउँदै नयाँ संरचना निर्माणमा खतिवडाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भनेर हामीले खतिवडाको ‘विज्ञता’ माथि विश्वास गरेका थियौं ? के उनको ‘विज्ञता’ हाम्रो जटिल अर्थतन्त्र सुहाउँदो थियो ?

 

यदि त्यसो थियो र, हामीले अर्थतन्त्रलाई बैंकको ब्याजदर, मुद्रा व्यवस्थापन, पूँजी बजार, आयात-निर्यात, राजश्व संकलन इत्यादिको रूपमा मात्र बुझेका थियौं भने खतिवडाले हाम्रो अपेक्षा अनुरूप यी सबै क्षेत्रमा ठीकै त काम गरे नि !

 

मुद्रा व्यवस्थापन गर्न, ब्याजदर कायम गर्न राष्ट्र बैंकको गर्भनर झैं आफैं कस्सिए । पूँजी बजार सुधार्न केही काम गरेकै हुन् । पीएचडी गरेका छन् । जसोतसो अङ्ग्रेजी बोल्छन् । त्यही बोलेर दाताहरूसँग केही रकम मागिहाले । आयात र निर्यातमा पनि खेलोफड्को गरिहाले ।

 

तर, हामीलाई चित्त बुझेन । हामीले अपेक्षा गरे अनुसार नै मोटामोटी काम गरे पनि हामीलाई चित्त बुझेन । किन चित्त बुझेन भन्दा अर्थतन्त्रको बारेमा हाम्रो बुझाइ नै सीमित थियो । नेपालको अर्थतन्त्रको जटिलता र बहुआयामिक पक्षको बारेमा नघोत्लिइ हामीले अर्थतन्त्रको बारेमा अपेक्षा राख्यौं, जुन पूरा हुँदा पनि नेपालका प्रमुख आर्थिक समस्याहरू ज्यूँका त्यूँ नै रहन्थे ।

 

अब हामीले नेपालको अर्थतन्त्रलाई समग्रतामा बुझेनौं, सामान्य प्राविधिक ‘एक्पोजर’ लाई देशको आर्थिक संरचना नै बदल्ने ल्याकत राख्ने ‘विज्ञता’को रूपमा बुझ्यौं, मुलुकको अर्थ–राजनीतिलाई वेवास्ता गर्दै अंक गणिततर्फ लहसियौं भने यसमा खतिवडाको के दोष ?

 

अब खतिवडाको ‘विज्ञता’, त्यसबाट मुलुकले नपाएको लाभांश र अहिलेको ‘डिफ्याक्टो’ स्वरूपको बारे थप दन्त बझान गरिरहने कि अर्थतन्त्रको बारेमा आफ्ना बुझाई उकास्ने ?

Advertisement Section