काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार खुल्न साथ उच्च अंकले बढेको बढेको बजार झिनो अंकले बढेर बन्द भएको हो ।
सेयर बजार मापक सूचक नेप्से ३ अंकले बढेर १५७५.१८ बिन्दुमा पुगेको छ । यसदिन १८८ कम्पनीको २ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ रुपैयाँ बराबरको कारोबार भएको छ । ९२ लाख ९३ हजार ७१२ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको सूचक उकालो लागेका छन् भने बाँकी ९ समूहको सूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २८.६६ अंकले बढेको छ भने होटल समूहको परिसूचक ९६.६५ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा रिलायन्स लाइफ इन्स्योरेन्सको कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर, रिलायन्स फाइनान्स, सप्तकोशी विकास बैंक, घलेम्दी हाइड्रोपावर र सेन्टर फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यस्तै, आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । लिवर्टी इनर्जी, हिमाल दोलखा, जोशी, हिमालय ऊर्जा, पाँचथर पावर र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।