भोलिदेखि आन्तरिक उडान सञ्चालन हुने, ५० प्रतिशत टिकट बुकिङ

काठमाडौं । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान सोमबार देखि नियमित सञ्चालन हुँदैछ ।

 

बन्दाबन्दीले ६ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् ।

 

भोलिदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ ।

 

शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । ‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ,’ उनले भने ।

 

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ ।

 

बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए ।

 

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शत्प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो ।

 

महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध थियो । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आएको छ ।

अब घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिवाना ! Read Previous

अब घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिवाना !

सेयर बजारमा सामान्य सुधार, १ दर्जन कम्पनीको मूल्यमा सर्किट Read Next

सेयर बजारमा सामान्य सुधार, १ दर्जन कम्पनीको मूल्यमा सर्किट