अब घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिवाना !

इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १० हजार पाउण्ड (करिब १५लाख रुपैयाँ)सम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ।

 

नयाँ कानूनी कर्तव्य अन्तर्गत कोरोना भाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ।

 

नयाँ नियम अन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ।

 

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागू गर्न लागिएको बताएका छन्।

 

शनिवारमात्रै इङ्गल्यान्डमा कोभिड–१९ का ४,४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ।

 

जरिवाना शुरुमा १,००० पाउण्ड हुनेछ भने दोहोर्याएर नियम तोड्ने र ‘एकदमै नराम्ररी नियम तोड्ने’ लाई १० हजार पाउण्डसम्म हुन सक्नेछ।त्यहाँ अहिलेसम्म सेल्फ आइसोलेशनमा बस्ने सुझाव केवल निर्देशनका रूपमा मात्रै दिइएको थियो।

 

इङ्ग्ल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना बताएका छन् ।

 

‘त्यसैले यी नियम मान्न कति महत्त्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई न्याश्नल हेल्थ सर्भिस एनएचएसले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईँ नियम मान्न कानुनी रूपमा बाँधिनु भएको छ भन्ने हो।’

 

नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिवानाको सामना गर्नुपर्ने पनि उनले बताए।‘जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै कुरा गर्नुपर्छ,’ उनले भने।

 

रोजगारदातालाई पनि कारबाही

 

धेरै जरिबाना तिर्नुपर्नेमा आइसोलेशनमा बस्न रोक्ने रोजगारदाताहरू पनि पर्छन्।कम जोखिम रहेका राष्ट्रको सूचीमा नरहेका देशबाट यूके फर्किनेहरू १४ दिन क्वारन्टीनमा बसेको नपाइए उनीहरूमाथि पनि कानुनी कारबाही हुनेछ।

 

अहिलेको नियमहरू धेरैजसो तोडिने गरेको र प्रभावकारी कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री जोनसन चिन्तित छन्।अहिले पाँचमध्ये चारजनाले सेल्फ आइसोलेशनमा बस्ने नियम तोड्ने गरेको बताएका छन्।

 

निरन्तर निगरानी

 

सेप्टेम्बर २८ तारिखबाट भने नियम तोड्नेलाई जरिवाना लाग्नेछ। हाल इङ्गल्यान्डमा मात्रै लागू नयाँ नियमहरू वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा पनि लगाइने यूके सरकारको आशा छ।

 

यी तीनवटा देशसँग कोरोनाभाइरससम्बन्धी आफ्नै नियमहरू लागू गर्ने अधिकार रहेको छ।सेल्फ आइसोलेशनमा बस्न भनिएकाहरू एनएचएसको परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा निरन्तर रहनुपर्ने अधिकारीहरूले बताएका छन्।

 

प्रहरीले पनि कोभिड–१९ का हटस्पट र उच्च जोखिम रहेका समूहहरूमा निरन्तर नियमको पालना भए नभएको जाँच गर्नुपर्नेछ।

-बीबीसी

मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर Read Previous

मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर

भोलिदेखि आन्तरिक उडान सञ्चालन हुने, ५० प्रतिशत टिकट बुकिङ Read Next

भोलिदेखि आन्तरिक उडान सञ्चालन हुने, ५० प्रतिशत टिकट बुकिङ