काठमाडौं । सरकारले विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणमा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई १ वर्षका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो । यससँगै अब ओम्नीले १ वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन ।
स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । ठेक्का रद्द गरेको करिब ६ महिनापछि मात्र सरकारले ओम्नीलाई कालोसूचीमा राखेको हो ।
राजनीतिक संरक्षणमा ओम्नीलाई कालोसूचीमा राख्न ढिलाई गरेको भन्दै पछिल्लो समय चौतर्फी आलोचना भइरहेको थियो । पहुँचका आधारमा ओम्नीले बजार मूल्य भन्दा कयौं गुणा महँगोमा स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो ।
