दूध खपत ५० प्रतिशतले घट्यो, दूग्धजन्य उद्योगलाई २० अर्ब बढीको नोक्सानी

काठमाडौं । कोरोनाका कारण दूध खपतमा ठूलो गिरावट आएको छ । हाल कोरोना अघिधै जति दूध उत्पादन भइरहेको छ । तर, होटल, रेष्टुरेन्ट, लगायत दूध खपत हुने ठाउँहरु बन्द हुँदा खपत आधाभन्दा बढीले कमी आएको व्यवसायीहरुले बताएका छन् ।

 

सरोकारवालाहरूका अनुसार बजारमा दुग्ध उत्पादन खपत ५० प्रतिशतले घटेको छ । नेपाल दुग्ध संघका कार्यकारी निर्देशक प्रल्हाद दाहालले दुग्ध क्षेत्रले २० अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको बताएका छन् । उनले दूध तथा दुग्ध जन्य वस्तुको बजार ५० प्रतिशतले घटेका बताए ।

 

देशभर दैनिक ६० लाख लिटर दूध उत्पादन हुन्छ तर, ३० लाख लिटर दूध मात्र खपत भइरहेको छ । उनले यस कारणले किसान धेरै प्रभावित भएका बताए ।

 

हाल दूध उत्पादनमा नभई खपत र विक्रीमा गिरावट आएको हो । डेरी उद्योगहरूले दूध खेर जान नदिन घिउ, बटर, चीज, पाउडर लगायत वस्तु उत्पादन गरेर भण्डारण गरे पनि ती वस्तु समेत खपत हुन नसक्दा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

 

दुग्ध उत्पादन सबैभन्दा धेरै होटल, रेष्टुरेन्टमा खपत हुने गरेकोमा हाल सबै बन्द हुँदा नकरात्मक असर परेको उनले बताए । ‘हामीले लाखौँ लिटर दूध तथा दुग्ध जन्य वस्तु होटल र रेष्टुरेन्टमा सप्लाई गर्ने गरेका थियौँ तर, कोभिडको बन्दरले आदि भन्दा बढी सामग्री विक्री हुन सकेको छैन,’ कार्यकारी निर्देशक दाहालले भने ‘यसले हामीलाई मात्र हैन किसानलाई समेत ठूलो मारमा पारेको छ ।’

 

उनले सरकारले महामारीको यो समयमा कुनै चासो नदेखाएको आरोप लगाए । उनले सरकारले निषेधाज्ञाको यो अवधिमा दुग्ध ढुवानी ट्याङकर, साइकल, मोटरसाइकललाई सहज आवतजावत गर्न नदिएको बताए ।

 

दुग्ध विकास निगमका सदस्य शितलकाजी श्रेष्ठले उत्पादनको नभई उत्पादनआपूर्ति र विक्रीमा समस्या भएको बताए ।दुग्ध जन्य उत्पादनको बजारमा उल्लेखनीय गिरावट आएको छ । जस कारण उत्पादित वस्तु भण्डारणमा समस्या उत्पादन भइरहेको छ उनले बताए ।

 

दूधलाई उद्योगहरूले घिउ, बटर, चीज, पाउडर लगायतका रुपमा उत्पादन गरे भण्डारण गरिरहेको छ । विभिन्न ठाउँमा गाइमा देखिएको ‘लम्पी स्किन’ रोगले किसान र दुग्ध क्षेत्रलाई झन असर पारेको उनले बताए ।

 

‘प्रदेश १, द्द र ३ मा गाई तथा भैँसिमा देखिएको लम्पी स्किन रोगले निकै चुनौती उत्पन्न गरेको छ, सरकारले यसमा रोकको समाधान तुरुन्त खोज्नु पर्छ,’ श्रेष्ठले भने ।

 

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुग्ध उद्योगको क्षतिको तथ्यांक सरकारले नराखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।पछिल्लो समय किसानले दूधको बजार नपाएको र उद्योगहरूले दुग्ध जन्य सामग्री भण्डारणका लागि ठाउँ नपाएको अवस्था छ ।

 

‘दुग्ध जन्य समग्रीमा ठूलो घाटा बेरोरिरहेका छौँ, तर सरकारले किसान र दुग्ध क्षेत्र कसरी बाँचेको छ र हामीले भोग्नु परेको क्षतिको कुनै तथ्यांक राखेको छैन,’ अध्यक्ष दाहालले भने ।

 

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले महामारीका कारण दूध संकलन ३० प्रतिशतले घटेको बताए । देशभरका सहरकारीहरूले प्रत्येक वर्ष ६ लाख लिटर दूध संकलन गर्ने गरेकोमा यो पटक ३० प्रतिशत कमी आएको हो ।

 

धेरै किसानहरूले दूध विक्री नभएपछि डेरीबाट भुक्तानी पाउन नसकेको भन्दै उनले डेरी उद्योग सञ्चालनमा छन् तर, उनीहरूले किसानबाट दूध संकलन गरेका छैनन्, ।’

 

राजकुमार दाहालले उत्पादित पाउडर दूध राख्ने भण्डारण नभएकाले धेरै पाउडर दूध उत्पादन गर्न नसकिएको बताए ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले दुग्ध क्षेत्रलाई भनेर छुटै राहत अथवा क्षतिपूर्तिको कुनै व्यवस्था नभएको बताए । उनले प्याकजमा क्षतिपूर्तिका लागि छलफल भएको बताए ।

सेयर बजारमा रौनक छाउँदै, सूचकमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३७ करोडको कारोबार Read Previous

सेयर बजारमा रौनक छाउँदै, सूचकमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३७ करोडको कारोबार

माउन्टेन इनर्जीको आइपीओ भदौ ३१ गतेदेखि खुल्ने Read Next

माउन्टेन इनर्जीको आइपीओ भदौ ३१ गतेदेखि खुल्ने