काठमाडौं । माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित गरेको प्राथमिक साधरण सेयर (आइपीओ) भदौ ३१ गतेदेखि विक्री खुला गर्ने भएको छ ।
कम्पनीले यसअघि साउन २८ गतेदेखि आयोजना प्रभावित आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि आइपीओ निष्काशन गर्ने मिति तय गरेको थियो । त्यसबेला बाढी पहिरो लगायत कारणले रोकिएको आइपीओ कम्पनीले भदौ ३१ गतेदेखि खुल्ला गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री गर्न लागेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता आइपीओ निष्काशन गर्नेछ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेका छन् ।
कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ।