काठमाडौं। पाँच उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने विषाक्त रसायन भेटिएको छ । औषधि व्यवस्था विभागले गरेको विभिन्न उद्योगको स्यानिटाइजरको नमूना परीक्षण गर्दा यस्तो भेटेको हो ।
विभागले काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा विषाक्त रसायन भेटिएको जनाएको छ ।
विभागका अनुसार विषक्त रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन गर्ने कम्पनीहरुमा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट, सूर्यमुखी हर्बल प्रोडक्ट र भक्तपुरको नेपाल कायाकल्प उद्योग रहेका छन् ।
विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स्ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।
यी उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा स्वास्थयलाई गम्भीर असर पार्ने मेथानोल रसायन भेटिएको विभागले जनाएको छ ।स्वास्थ्यलाई क्षति पुर्याउने रसायन भेटिएसँगै विभागले ती उद्योगको स्यानिटाइजर विक्रीमा रोक लगाएको छ ।
विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ ।
