काठमाडौं । रेष्टुरेण्टमा खाने संस्कृति नेपालमा खासै पुरानो होइन । एक–डेढ दशकयता देशमा रेमिट्यान्सको पैसा उल्लेख्य मात्रामा भित्रिन थालेपछि नेपालको आर्थिक संरचनामा केही परिर्वतन आयो, जसले नेपालमा उपभोग बढायो । त्यसैको परिणाम स्वरूप नेपालमा रेष्टुरेन्टमा खाने संस्कृति थोरै बढेर गयो ।
तर, यो संस्कृति पूर्णरूपमा विकसित भइसकेको अवस्था भने होइन । अझै पनि नेपालमा ‘ब्रेकफास्ट’ खान रेष्टुरेण्ट जाने चलन शुरू भइसकेको छैन । स-परिवार ‘डिनर’ खाने चलन पनि शुरू भएको छैन । खाजा खाने चलन चाहिँ बढेकै हो यो १०-१५ वर्षमा ।
यो क्षेत्रमा मूल रुपमा तल्लो वर्गका लाखौं कर्मचारीहरु कार्यरत छन् , जसको रोजगारी अहिले गुमेको छ । तिनीहरू अब कहाँ जालान् ? कुन क्षेत्रमा तिनले रोजगारी पाउलान् ? र त्यसको समग्र सामाजिक र आर्थिक प्रभाव कस्तो होला ? अहिले भन्न सकिने अवस्था छैन ।
यसको मतलब के हो भने नेपालमा रेष्टुरेन्ट संस्कृति फराकिलो रूपमा विकास भएको छैन । तर, दूर्भाग्यवश विकासको शुरूवाती चरणमा नै रहेको यो व्यवसाय अहिले कोरोना भाइरसको मारमा परेको छ । भाइरसको कारणले सबैभन्दा ठूलो मार परेको मध्येको क्षेत्र पनि रेष्टुरेन्ट क्षेत्र नै हो ।
अब यो व्यवसायको मोडल भविष्यमा कस्तो होला, व्यवसायीहरू पनि यसै भन्न सक्ने अवस्थामा छैनन् ।‘६ महिनायता व्यवसाय ठप्प छ । बीचमा केही समय खुले पनि ग्राहक भित्र पसेर निर्धक्क खान डराए । कहिलेसम्म यही ढंगले चल्ने हो केही थाहा छैन । व्यवसाय पनि अब लामोसमय धान्न सक्ने अवस्था छैन,’ बानेश्वरमा एक चेन रेष्टुरेन्टको फ्रान्चाइच सञ्चालन गरिरहेका बाबु कँडेल भन्छन् ।
रेष्टुरेन्ट व्यवसाय भनेको दैनिक रूपमै कर्मचारीको पारिश्रमिक, तरकारी र माछामासुको मूल्य, घरभाडा इत्यादिका बारेमा हिसाब गरिरहनु पर्ने र त्यही अन्तरकुन्तरबाट नाफा निकाल्नु पर्ने विशिष्ट किसिमको व्यवसाय हो ।
यो हिसाब किताबको लेठो पनि ठप्पै छ महामारीयता । यो क्षेत्रले लाखौंको संख्यामा अनौपचारिक रोजगारी सृजना गरेको थियो । ‘हस्पिटालिटी’को क्षेत्रमा विदेश काम गर्न जान चाहने युवाहरुको पनि कामको अनुभव हासिल गर्ने यही क्षेत्र थियो ।
नयाँ युवा उद्यमीहरूका लागि पनि यो सहज प्रवेशको क्षेत्र थियो । नेपालका अन्य धेरै क्षेत्रमा नयाँ उद्यमीहरूको प्रवेश त्यति सजिलो छैन । ठूला व्यवसायीहरुले जब्बर संरचना बनाएका छन् ।
यो क्षेत्रमा कामदारहरु सस्तोमा पाइने र दैनिक रूपमा नगद प्रवाह हुने भएका कारण पनि युवा र नव–उद्यमीहरू यो क्षेत्र प्रति आकर्षित भएका थिए, पछिल्लो समय । अब कर्मचारीहरू त्यही रूपले उपलब्ध हुन्छन् वा हुन्नन यकिन छैन ।
त्यसको कारण के हो भने पछिल्लो समय व्यवसाय टिकाउनका लागि व्यवसायीहरू ‘टेक अवे’ र ‘डेलिभरी’ तर्फ लागेका छन् । यसो गर्दा कर्मचारीहरूले सामान्य अवस्थामा ‘टिप्स’को रुपमा पाउने आम्दानी नहुने भएको छ ।
आम्दानी नभएपछि युवाहरु यो क्षेत्रमा काम गरिरहलान् वा पलायन होलान् भन्ने प्रश्न पनि खडा भएको छ । उनीहरू कम तलब भए पनि ‘टिप्स’को रूपमा हुने अतिरिक्त आम्दानीको कारणले यो क्षेत्रमा टिकिरहेको यो क्षेत्र सम्बद्ध मानिसहरू बताउँछन् । यसले समग्र व्यवसायको संरचनामै परिवर्तन ल्याउने देखिएको छ ।
यो क्षेत्रमा मूल रुपमा तल्लो वर्गका लाखौं कर्मचारीहरु कार्यरत छन् , जसको रोजगारी अहिले गुमेको छ । तिनीहरू अब कहाँ जालान् ? कुन क्षेत्रमा तिनले रोजगारी पाउलान् ? र त्यसको समग्र सामाजिक र आर्थिक प्रभाव कस्तो होला ? अहिले भन्न सकिने अवस्था छैन ।
विदेशतिर भने रेष्टुरेन्ट चलाउने सहकारी मोडलको प्रयोग शुरू हुन थालेको देखिन्छ । सबै कर्मचारीहरूलाई नै सेयरधनी बनाउने र व्यवसायलाइ जोगाउने । यहाँ पनि त्यस्तै मोडल सञ्चालनमा आउला ?
यो समयमा खाना डेलीभरी गर्ने कम्पनीहरुको भने व्यवसायमा वृद्धि भएको छ । अब लामोसमयसम्म मानिसहरूमा बाहिर गएर खाने भन्दा पनि घर वा कार्यालयमै खाना मगाएर खाने बानीको विकास नहोला भन्न सकिन्न । यो महामारीको प्रभाव अझै डेढ–दुई वर्ष रहनेमा अब शंका भएन ।
विदेशतिर भने रेष्टुरेन्ट चलाउने सहकारी मोडलको प्रयोग शुरू हुन थालेको देखिन्छ । सबै कर्मचारीहरूलाई नै सेयरधनी बनाउने र व्यवसायलाइ जोगाउने । यहाँ पनि त्यस्तै मोडल सञ्चालनमा आउला ? कृषिको क्षेत्रमा भने सरकारीको मोडलले प्रभावकारी उपलब्धी दिलाएको छ किसानहरूलाई ।
राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्त धेरै साना तथा मझौला व्यवसायहरू अब कहिल्यै नखुल्ने अवस्था रहेको संकेत गरेको थियो । सीमित पूँजी सकिइसकेको अवस्था छ ।
रेष्टुरेन्ट व्यवसाय आफैंमा छुट्टै टापु जस्तो मात्र पनि होइन । मासु उत्पादक, किसान, ग्यासका डिलरहरू, खुद्रा पसलहरू सम्मिलित एउटा आर्थिक संरचनाको केन्द्रमा यो व्यवसाय रहेको छ ।
‘सामान्य अवस्थामा मेरो मासिक व्यापार ५ लाख रुपैयाँसम्म हुन्थ्यो । लकडाउनयता मेरो व्यापार ठप्प छ । मेरा ग्राहकहरु मुख्य रुपमा ठूला होटलहरू र रेष्टुरेन्टहरू थिए,’ भक्तपुरको दधिकोटमा महङ्गा तरकारी वा जडिबुटीको (लेमन ग्रास, बासिल, थाइम, रोजमेरी इत्यादि) खेती गरिरहेका किसान कुमार कार्की तिवारी बताउँछन् । उनले त्यहाँ करिब १० रोपनी जग्गा भाडामा लिएका छन् । यो पटक उनको सबै बाली खेर गएको अवस्था छ ।
अब रेष्टुरेन्ट र यो क्षेत्रसँग सम्बन्धित अन्य व्यवसायहरू टिकाउने हो भने उनीहरूले आफ्नो व्यवसाय, समुदाय र कर्मचारीहरू केन्द्रित मौलिक मोडलको विकास गर्दै जानु पर्ने देखिन्छ ।
त्यस्तै विभिन्न ठाउँमा प्रयोगमा आउने मौलिक मोडलहरूबाट नै एउटा दीर्घकालीन र प्रभावकारी रेष्टुरेन्ट व्यवसाय सञ्चालनको मोडलको विकास होला कि !