सरकारले दियो ४०७ वटा खानी उत्खनन तथा खोजतलासका लागि अनुमति

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ ।

 

खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो ।

 

त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन् ।

 

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ ।

 

विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।

 

‘आव २०७४/७५ र आव २०७५/७६ को तुलनामा आव ०७६/७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ, ’उनी भन्छन् ।

 

आव २०७४/७५ मा १२६ र आव २०७५/७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६/७७ मा ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा ७७ करोडन ३ लाख राजश्व आम्दानी गरेको थियो

भिजाद्वारा नेपालका लागि भुक्तानी सुरक्षा रोडम्यापको शुरूवात Read Previous

भिजाद्वारा नेपालका लागि भुक्तानी सुरक्षा रोडम्यापको शुरूवात

फस्टाउँदै गरेको रेष्टुरेण्ट व्यवसाय उठ्नै नसक्ने गरी थला पर्दै, लाखौंको रोजगारी गुम्ने खतरा Read Next

फस्टाउँदै गरेको रेष्टुरेण्ट व्यवसाय उठ्नै नसक्ने गरी थला पर्दै, लाखौंको रोजगारी गुम्ने खतरा