शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती, १५ हजारमा तालीमदेखि बीउ, मलसम्मको प्याकेज

काठमाडौं । घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ। कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो।

 

‘घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ,’ कौसी खेती प्रबद्र्धनमा लागेका नेपाल एग्रो लाइभ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरे भन्छन्। शहरमा सीमित जग्गा हुने, अग्ला र घनावस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिन्छ।

 

नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ। साना, थोपा र मिस्ट सिँचाइ, बेमौसमी तरकारी उत्पादन गर्न बाँस र फलामका आधुनिक प्लाष्टिक घर बनाउन यसले काम गर्दै आएको छ।

 

अहिले कोरोनाले चिन्ता थपेको छ। लकडाउन, निषेधाज्ञाले घरमै बस्नुपर्दा फुर्सदको उपयोग, शारीरिक परिश्रम र मन बहलाउन यो खेती उपयोगी बनेको छ। यसमा धेरैजसो माटोको प्रयोग गरिएपनि अचेल माटोभन्दा नरिवलको जटालाई धूलो बनाई खदिलो रुपमा तयार पारिएको ‘कोकोपीट’ प्लाष्टिकको झोला ‘ग्रो ब्याग’ मा राखी बिरुवा रोपिन्छ।

 

कोकोपीटमा अर्गानिक मलसहितका पौष्टिक तत्व मिसाइन्छ जसले बिरुवा छिटो हुर्कन सघाउँछ। रोगबाट बच्न निमको तेल छरिन्छ। रोग बढी लाग्ने, फोहर र छतमा असर पर्ने हुँदा माटोको तुलनामा कोकोपीटको प्रयोग बढेको छ। पाँच केजीको नौ वटा ब्लक भयो भने त्यसले ५० वटा ग्रो ब्यागमा तरकारी फलाउन सकिने कार्यकारी अधिकृत गैरे बताउछन्। प्रदूषण र तापक्रम केही कम गर्न र घरको सुन्दरता बढाउन यो खेती गरेको पाइन्छ।

 

नेपाल एग्रोले नुवाकोटको किम्ताङ र बुम्ताङका कृषकलाई आधुनिक तरकारी उत्पादनसम्बन्धी कार्यक्रम, काभ्रे तिमालका कृषकलाई आकाशे पानी सङ्कलन, दामनमा विविध सिँचाइ, काठमाडौँ टोखाको लक्ष्मीपुर कृषि फार्म, ललितपुर सुनाकोठीको गणपति यल कृषि फार्म र सुयोग आधुनिक कृषि फार्मको लागि व्यावसायिक खेती गर्न सर्वे डिजाइन लगायत प्राविधिक सेवाको काम गरिसकेको छ।

 

संस्थाले नख्खीपोट, स्वयम्भू, कुसुन्ती, रामकोट, कोलोनीसहित सयजति घरमा पुगेर कौसी खेतीको तालीम दिएको छ। ‘५० ब्यागमा तरकारी लगाउँदा सानो परिवारलाई मासुबाहेक मौसम अनुसारका ताजा तरकारी खान पुग्छ,’ गैरे भन्छन्।

 

यसमा करेला, घिरौला, सीमी, बोडी, खुर्सानी, क्याप्सीकम, गोलभेडा, धनियाँ, बर्खे साग, भेडीलगायत मौसम अनुसारका तरकारी लगाउन सकिन्छ। नेपाल एग्रोले बिरुवा, बीउ, मल, ब्याग, परामर्श र सामग्रीसहित प्याकेजमा करिब १५ हजार रुपैयाँमा सेवा दिएको हिकास्टबाट कृषि विज्ञानमा स्नातक संंस्थाका कृषि अधिकृत सार्थक गैरेले बताए। ‘थोपा सिँचाइ लगाउन सकिन्छ, तर अहिले पानी हाल्ने हजारी दिएका छौँ,’ अधिकृत सार्थक थप्छन्। ब्यागमा बेलाबेलामा मल थप्नुपर्छ।

 

राजनले आइडिइ नेपालमा १० वर्ष तथा तथा युएसएआइडीको सहयोगमा ११ जिल्लामा सञ्चालित किसान परियोजनामा साना तथा थोपा सिँचाइ, कृषि प्रविधि, अनुसन्धान र विकाससम्बन्धी अनुभव बटुलेका छन्।

 

‘यो खेतीमा अनुदान होइन निजी क्षेत्रले आधुनिक प्राविधिक परामर्श र व्यावहारिक ज्ञान दिनुपर्छ,’ बीस वर्षको कृषि खेती र प्रविधिमा सक्रिय उनको भनाइ छ। संस्थाले गोर्खा र धादिङका एक हजार १०० घरमा स्वच्छ बगैँचा स्वच्छ घरको कार्यक्रम चलाएको थियो।

५ उद्योगको स्यानिटाइजरमा स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटियो, विक्रीमा प्रतिबन्ध Read Previous

५ उद्योगको स्यानिटाइजरमा स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटियो, विक्रीमा प्रतिबन्ध

बंगलादेशले दिएको ५ हजार थान रेमडेसिभिर स्वदेश ल्याइयो Read Next

बंगलादेशले दिएको ५ हजार थान रेमडेसिभिर स्वदेश ल्याइयो