काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै बीमा गर्नेको संख्या पनि बढिरहेको छ । कोरोनाको जोखिम सुरक्षणका लागि बैशाख ७ गतेदेखि विक्रीमा ल्याइएको यो पोलिसी हालसम्म साढे १२ लाखभन्दा बढीले गरिसकिेका छन् ।
बीमा समितिका अनुसार बुधबारसम्म कुल १२ लाख ६६ हजार ९४५ जनाले कोरोना कोरोना बीमा गरेका छन् । त्यसबापत निर्जीवन बीमा कम्पनीहरुले ७२ करोड ४२ लाख ५८ हजार ३३९ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो अवधिमा १ लाख २८ हजार ५१३ वटा बीमा लेख विक्री भएको छ ।
हाल २० निर्जीवन बीमा कम्पनीमार्फत उक्त बीमालेख विक्री भइररहेको छ । ३ महिनाको बच्चा देखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बीमा गर्न सकिन्छ ।
ती बीमा कम्पनीमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै २ लाख ५९ हजार ३३५ जनाकोे बीमा गरेको छ । त्यसबाट १५ करोड ५७ लाख २२ हजार २०७ रुपैयाँ संकलन भएको छ ।
त्यस्तै शिखर इन्स्योरेन्सले १ लाख ८९ हजार १ जनाको बीमा गरेको छ । त्यसबाट १० करोड ३३ लाख ९९ हजार ७०० रुपैयाँ संकलन भएको छ ।नेशनल इन्स्योरेन्सबाट सबैभन्दा कम १३ हजार ९८३ जनाको ७० लाख २२ हजार ७०० रुपैयाँ बीमा भएको छ ।

कोरोना बीमालेखमा १ लाख र ५० हजार गरी दुई प्रकारको बीमांक तोकिएको छ । १ लाख रुपैयाँको बीमाका लागि व्यक्तिले १ हजार रुपैयाँ प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ तिरे पुग्छ ।
५० हजार रुपैयाँ बीमांकको बीमांलेखका लागि प्रतिव्यक्ति ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति ३०० रुपैयाँमा बीमा गर्न सकिन्छ । यी दुवै बीमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ ।
सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरुले दावी भुक्तानी गर्ने छन् ।
बीमा कम्पनीले दावी निवेदन पेश गरेको ७ दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने छ ।यदी दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।