काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक ज्योती विकास बैंकले विना धितो सहुलियत कर्जा प्रवाह गर्न शुरू गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको व्यवस्था बमोजिम बैंकले विना धितो ऋण प्रवाह गर्न शुरू गरेको हो ।
बैंकले यो सहुलियत कर्जा अनुसार महिला, दलित, शिक्षित युवा, बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई विना धितो ७ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न लागेको जनाएको छ ।

यो ऋण प्राप्त गर्नका लागि ऋणीले कुन व्यवसाय गर्न लागेको हो त्यही अनुसारको कम्तीमा ७ दिनको तालिम सीटीइभीटीबाट लिनुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस्तो कर्जा एउटा शाखाबाट कम्तीमा ५ वटा र विकास बैंकको हकमा कुल ३०० वटा प्रभाव गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जामा राष्ट्र बैंकले ५ प्रतिशत ऋण सहुलियत दिने व्यवस्था गरेको छ ।
‘अहिले हाम्रो बेस रेट १०.५८ प्रतिशत रहेको छ । त्यसमा हामीले २ प्रतिशत थपेर १२.५८ प्रतिशतमा कर्जा प्रवाह गर्ने हो । तर, हामीले ५ प्रतिशत राष्ट्र बैंकबाट सहुलियत पाउने हुनाले हामीले ऋणीलाई ७.५८ प्रतिशतमा ऋण प्रवाह गर्छौं,’ बैंकका चीफ बिजनेश अफिसर रामहरि आचार्यले चाणक्य पोष्टसँग भने । साथै, यो सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रवाह हुने उनले बताए ।