काठमाडौं । प्रहरीले सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका-२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उक्त सहकारीको ७ वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाइ पक्राउ परेका खड्गी ठगी गरेर फरार रहेका थिए ।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।रासस