सेयर बजारले लय समात्दै, सूचक दोहोरो अंकले बढ्दा कारोबार रकममा ७७ करोडको बढोत्तरी

काठमाडौं । सेयर बजारले लय समात्दै गएको छ । अघिल्ला दुई साता लगातार बढेको बजार यो साताको सुरुको दुई दिनमै करिब २३ अंकले घटेको थियो । फेरि मंगलबारदेखि उकालो लागेको बजारले आफ्नो यात्रा जारी राखेको छ ।

 

आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । हिजोको तुलनामा आज कारोबार रकम करिब ७७ करोड रुपैयाँले बढेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १३.०५ अंकले बढेर १५०८.२० बिन्दुमा पुगेको छ । यसदिन १९४ कम्पनीको २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँ बराबरको कारोबार भएको छ । ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र विकास बैंक समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २६१.८१ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक ५.४८ अंकले घटेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २२ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

 

पछिल्लो ४ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा नागरिक लगानी कोष र शिवम सिमेन्टको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बढ्दो बजारमा राष्ट्रिय बीमा कम्पनीको साधरण र प्रमोटर, आरम्भ चौतारी लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज पनि एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । यो हप्ता यस कम्पनीको मूल्यमा लगातार नेगेटिभ सर्किट लाग्दै आएको छ ।

निषेधाज्ञाका बीच नागढुङ्गा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै Read Previous

निषेधाज्ञाका बीच नागढुङ्गा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै

सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ Read Next

सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ