काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार ‘एकीकृत निर्देशिका-२०७७’ जारी गर्दै गाडी, घरकर्जा लगायतका आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर एउटै राख्नुपर्ने व्यवस्था गरेको हो ।
बैंकहरुले बेसरेट परिवर्तन भएसँगै सवारी र घरकर्जाको ब्याजदरमा पनि परिवर्तन गर्दा ऋणी समस्यामा परेको भन्दै यस्तो व्यवस्था गरेको हो ।
अब बैंकहरुले सवारी र घरकर्जाको भुक्तानी अवधिभर एउटै ब्याजदर कायम गर्नु पर्नेछ अर्थात बीचमा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।यसका लागि बैंकले प्रडक्ट ल्याउँदा नै ब्याज परिवर्तन र स्थिर गरी दुवैको किस्ताबारे स्पष्ट खुलाउनु पर्ने छ ।
यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएकारहुने घर कर्जा, गाडी कर्जा, लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएकारहुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ।
‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ । यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर (फिक्सड इन्ट्रेस्ट रेट) निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।
‘तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,’ निर्देशिकामा उल्लेख छ ।
यसकाआधारमा स्थिर ब्याजको प्रडक्ड खरिद गरेका ग्राहकले कर्जा भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न पाउने छैनन ।
