निजगढ विमानस्थलको मास्टर प्लान निर्माणको खरिद सम्झौता प्रक्रिया १ हप्ता भित्र सक्न निर्देशन

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना (मास्टर प्लान) निर्माणको खरिद सम्झौताको प्रक्रिया एक हप्ता भित्र सम्पन्न गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

 

सांस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा मंगलबार बसेको बैठकले निजगढ विमानस्थलको मास्टर प्लान निर्माणको खरिद प्रक्रियाका बाँकी कार्यहरु आगामी एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको हो ।

 

विमानस्थलको १ हजार ९०० हेक्टर जमिनमा भएको रुख विरुवा तथा पोल मध्ये हालसम्म ५७ हजार ३५० गणना भई सकेको छ । सो क्षेत्रमा नदी नियन्त्रणको काम धमाधम भइरहेका छ ।

 

डिभिजन वन कार्यालय, बाराद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने रुख तथा पोलहरुको लगत नम्बरिङको कार्य शीघ्र सम्पन्न गर्न नागरिक सांस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । उनले यथाशीघ्र जनशक्ति थप गरी २०७७ मंसिर मसान्तसम्ममा रुख गणनाको कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

 

बैठकमा मन्त्री भट्टराईले आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तय गर्न निर्देशन दिइएको छ । मन्त्रालयले १५ दिनभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

 

विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरी सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडलाई जिम्मा दिएको छ ।

 

सडक निर्माणका क्रममा ४ हजार २३२ वटा रुख कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेशन कार्य सम्पन्न गरी एक महिनाभित्र मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नु पर्ने छ ।

 

लगानी बोर्ड नेपाललाई विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्र आरएफपी (रिक्वेष्ट फर प्रपोजल) सम्बन्धी अन्तिम निर्णय पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ३९६ सहित थप ९०२ जनामा कोरोना पुष्टि, २२८७ डिस्चार्ज, ६ जनाको मृत्यु Read Previous

काठमाडौंमा ३९६ सहित थप ९०२ जनामा कोरोना पुष्टि, २२८७ डिस्चार्ज, ६ जनाको मृत्यु

अब बैंकले गाडी र घरकर्जाको ब्याज बीचमा परिवर्तन गर्न नपाउने, कर्जा अवधिभर स्थिर हुने Read Next

अब बैंकले गाडी र घरकर्जाको ब्याज बीचमा परिवर्तन गर्न नपाउने, कर्जा अवधिभर स्थिर हुने