अन्नपूर्ण चिनी मिलले अझै दिएन् उखु किसानको २४ करोड भुक्तानी

काठमाडौं । किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी नगरेको पाइएको छ ।सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ ।

 

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएका छैनन् ।

 

पटकपटक सङ्घर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन/चार वर्षदेखिको भुक्तानी भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ ।

 

लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए । आफूहरु काठमाडौँ गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ ।

 

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन् । उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् । विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन् ।

 

जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन/चार वर्षदेखिको करिब २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ ।

डढेलोसरी कोरोना फैलिरहेकै बेला भारतले सञ्चालनमा ल्यायो मेट्रो रेल Read Previous

डढेलोसरी कोरोना फैलिरहेकै बेला भारतले सञ्चालनमा ल्यायो मेट्रो रेल

हाइड्रोको सेयरले किन तान्दै छ लगानीकर्तालाई ? यस्ता छन् आकर्षित हुनुका कारण Read Next

हाइड्रोको सेयरले किन तान्दै छ लगानीकर्तालाई ? यस्ता छन् आकर्षित हुनुका कारण