डढेलोसरी कोरोना फैरिरहे पनि भारत सरकारले आजदेखि मेट्रोरेल सेवा सञ्चालनमा ल्याएको छ । कोरोनाका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबार बिहान ७ बजेदेखि सेवा सुचारु गरेका हुन् ।
भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ। यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा शुरू गरेका छन्।
भारत कोरोनाबाट अति प्रभावित मुलुकमध्ये विश्वमै दोस्रो स्थानमा छ । अहिलेसम्म ४२ लाखभन्दा बढी संक्रमित भएक छन् भने ७२ हजारको मृत्यु भइसकेको छ ।
भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अन्तर्गत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः शुरू भएका हुन्।
भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो।मेट्रो सुरू भएपछि हुने सेवाग्राहीको सम्भावित भिडलाई नियन्त्रण र नियमन गर्न बिहानैदेखि मेट्रो स्टेशनहरूमा प्रहरीहरू खटाइएको छ।
मेट्रो सेवा लिनेहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ भने सामाजिक दूरीलाईसमेत पालना गर्नुपर्नेछ।यस्तै मेट्रो प्रयोगका लागि अनलाइन रिचार्च गर्न मिल्ने स्मार्ट कार्डलाई अनिवार्य गराइएको छ भने यसअघि प्रयोगमा रहेको टोकन प्रणाली खारेज गरिएको छ।
भारतले मेट्रो सेवालाई चरणबद्ध रूपमा खोल्ने योजना बनाएको छ। त्यहाँको मेट्रो सेवा पहिले झै खुल्न भने केही समय लाग्नेछ।