२ किलोको कुखुरा १०० रुपैयाँमा पनि बिक्न छाड्यो, पोल्ट्री व्यवसायी पलायन हुने अवस्थामा

चितवन । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्रोइलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् ।

 

तरकारीको मूल्य प्रतिकेजी १०० रुपैयाँभन्दा बढी छ । २ किलोभन्दा बढी तौलको ब्रोइलर कुखुरा किसानले १०० सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् ।

 

कोभिड–१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् । धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री–वितरणमा रोक नलगाएको भए पनि ब्रोइलर कुखुरा भने बिक्री हुन सकेको छैन ।

 

१ किलो कुखुराको सरदर लागत मूल्य २०० पर्छ तर लागत मूल्यभन्दा आधा सस्तोमा बेच्नुपर्ने अवस्था आएको किसानहरु बताउँछन् । कतिपय किसानले त ८० देखि ८५ सम्ममा पनि कुखुरा बेच्ने गरेका छन् ।

 

ब्रोइलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् ।

 

भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका किसान विष्णु ढकालले बेच्ने अवस्थामा पुगेका कुखुरा लिन आफ्नो फार्ममा व्यवसायी नआएको गुनासो गरे । उनले भने, ‘कुखुरा पालेको ४५ दिन भयो, १०० रुपैयाँमा पनि बिक्री भएको छैन ।’

 

आफ्नो गाउँका कतिपय किसानको ६० दिनसम्म पनि कुखुरा नउठेको उनले बताए । ४० देखि ४५ दिनमा कुखुरा बिक्री गर्ने उपयुक्त समय हो । ढकालले आफ्नो खोरमा एक हजार कुखुरा राखेका छन् । ‘७० रुपैयाँमा खरिद गरेर चल्ला राखेको हो, अहिले कुखुराको मूल्य नै १०० भन्दा बढी छैन,’ उनले भने, ‘दाना, औषधि र श्रमदान खेर गयो । कुखुरा यतिकै फाल्न भएन, यो लटमा कम्तीमा पनि ३ लाख घाटा हुने निश्चित भयो ।’

 

भरतपुरका अर्का कुखुरापालक किसान प्रकाशबाबु खनालले ब्रोइलर पालक किसानको अवस्था नाजुक रहेको बताए। ‘जिउँदो कुखुरा १०० मा पनि बिक्री भएको छैन,’ उनले भने, “किसान ऋणमा चुर्लुम्म डुबेका छन् ।’ उनले बिचौलियाको बिगबिगी कायमै रहेको भन्दै कुखुरा लगेर भण्डारण गरिरहेको दाबी गरे । ‘किसानको बजारमा पहुँच छैन, बिचौलियाकै भरमा बेच्नुपर्ने बाध्यता छ, अनि कसरी मूल्य पाइन्छ ?,’ उनको प्रश्न छ ।

 

एक किलो कुखुराको सरदर लागत मूल्य २०० पर्छ तर लागत मूल्यभन्दा आधा सस्तोमा बेच्नुपर्ने अवस्था आएको उनले बताए। कतिपय किसानले त ८० देखि ८५ सम्ममा पनि कुखुरा बेचेको खनालले बताए।

 

नेपाल कुखुरा पालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेल ब्रोइलर पालक किसान निकै मारमा परेको बताउँछन् । उनका अनुसार कोरोनाका कारण शुरुमा लगाइएको लकडाउन खुल्ने समयमा कुखुराको भाउ ह्वात्तै बढ्यो । उनले भने, ‘चल्ला सस्तो थियो । लकडाउनले घरमै बसिरहेको अवस्था भएकाले धेरै किसानले कुखुरा राखे । अहिले ब्रोइलरको उत्पादन बढ्यो । पुनः जिल्ला जिल्लामा गरिएका निषेधाज्ञाले बजार ठप्प भयो । किसानको खोरबाट कुखुरा उठेनन्,’ उनले भने ।

 

लकडाउन खुकुलो भएपछिको एक महिना जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी २६० सम्म पुगेको अध्यक्ष पौडेलले जानकारी दिए । मूल्य राम्रो देखेर कतिपय किसानले कुखुरा राखेका कारण अहिले उत्पादन धेरै भएको उनको बुझाइ छ ।

 

बिचौलियाको कारण किसान मारमा

 

चितवनमा मात्रै सङ्घमा आबद्ध २ हजार ब्रोइलर कुखुरा पालक किसान छन् । ‘सामान्य किसानले थोरै लगानीमा ब्रोइलर कुखरा पाल्छन्, उनीहरुलाई बजारको अवस्थाका बारेमा थाहा हुँदैन,’ उनले भने, ‘मारमा पर्ने पनि उनीहरु नै हुन् ।’ कुखुरा व्यवसायमा बिचौलियाको राज हुनु किसानमाथि उठ्न नसक्नुको प्रमुख कारण भएको उनको भनाइ छ ।

 

किसानको खोरमा सस्तोमा कुखुरा उठाएर व्यवसायीले स्टोर गरेर राखेको पौडेलले बताए। कुखुराको भाउ र बजार नपाउनुमा ५० प्रतिशत कारण लकडाउन र अन्य बिचौलिया लगायतको कारण भएको उनले बताए ।

 

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले यो हप्ता मात्रै २५ प्रतिशत चल्ला नष्ट गरको बताए । अघिल्लो हप्ता ५० प्रतिशतसम्म चल्ला नष्ट गरिएको थियो । बिक्री र मूल्य नपाएपछि उनीहरुले चल्ला ह्याच नगरी नष्ट गरेको उनले बताए। कुखुराको कारोबार ह्वात्तै घटेपछि कुखुरा उत्पादन रोक्न चल्ला नष्ट गरिएको उनको भनाइ छ ।

 

काठमाडौंमा अहिले पनि प्रतिकेजी १८० सम्म जिउँदो कुखुरा बिक्री भइरहेको भन्दै उनले चितवनलागायत तराईका जिल्लामा प्रतिकिलो १०० सम्ममा बिक्री हुन पनि गाह्रो भएको बताए ।

 

‘काठमाडौँ र तराईमा ३० रुपैयाँसम्म मात्रै फरक हुनुपथ्र्यो,’ उनले भने, ‘यति धरै फरक कसरी भयो ? बुझ्न सकिएको छैन ।’ पछिल्लो लकडाउन अघि चितवनलगायत तराईका जिल्लामा जिउँदो कुखुरा प्रतिकेजी २६० र काठमाडौँमा ३०० सम्ममा बिक्री भएको उनले जानकारी दिए ।

 

अध्यक्ष पौडेलले भने, ‘उत्पादक र उपभोक्ताबीच अझै पनि मूल्यमा धरै फरक छ । किसानबाट उठाएका कुखुरा एक सयसम्म नाफा राखेर बेच्न सकिन्छ तर व्यापारीले आफू अनुकूल गर्छन् । पोल्ट्री क्षेत्रमा सरकारी निकायको अनुगमन छैन, व्यावसायीले आफ्नो मनलाग्दी गर्छन् ।’ देशभर २० हजारभन्दा बढी ब्वायलर पालक किसान मात्रै रहेको सङ्घको तथ्याङ्क छ ।

 

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले यो हप्ता मात्रै २५ प्रतिशत चल्ला नष्ट गरको बताए । अघिल्लो हप्ता ५० प्रतिशतसम्म चल्ला नष्ट गरिएको थियो । बिक्री र मूल्य नपाएपछि उनीहरुले चल्ला ह्याच नगरी नष्ट गरेको उनले बताए। कुखुराको कारोबार ह्वात्तै घटेपछि कुखुरा उत्पादन रोक्न चल्ला नष्ट गरिएको उनको भनाइ छ ।

 

ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि चल्लाको मूल्य पनि ह्वात्तै घटेको छ । सङ्घले तोकेको मूल्यभन्दा पनि निकै कममा कारोबार भइरहेको छ । कुखुरा बिक्री नभएपछि चल्लाको माग पनि कम छ ।

 

किसानले चल्ला नहालेपछि नष्ट गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘चल्ला लगेर ४५ दिनसम्म दाना खुवाएर पाल्दा १०० पनि पाउन मुस्किल भएपछि कसले कुखुरा पाल्छ ?,’ उनले भने, ‘त्यही भएर अहिले चल्लाको बिक्री कम भएको हो । अहिले हामीले ३० मा चल्ला बिक्री गरिरहेका छौँ ।’ चल्लाको लागत नै ५६ पैसा पर्ने उहाँले जानकारी दिए ।

 

साना लगानीकर्ताहरु पलायन हुने अवस्थामा

 

आत्मनिर्भर बन्दै गएको पोल्ट्री व्यवसायमा हुने उतारचढावले साना लगानीकर्ताहरु पलायन हुने अवस्था सिर्जना हुँदै गएको छ ।विगतमा बर्डफ्लु, भूकम्प लगायतका कारण पनि समय समयमा किसानले समस्या व्यहोर्नु परेको थियो । तर अहिलेको अवस्था त्योभन्दा पनि भयावह बनेको छ ।

 

कोरोनाको कहरले मुलुकको अरू क्षेत्र र व्यवसायलाई पनि मारमा पारेकै छ । तर यहाँका कुखुरापालक किसानहरु भने देशको अरु क्षेत्रभन्दा यो व्यवसायलाई बढी मार परेको बताइरहेका छन् । रासस

सेयर बजार : खतिवडाको वहिर्गमनको प्रभाव देखिएन, सूचकमा दोहोरो अंकको गिरावट Read Previous

सेयर बजार : खतिवडाको वहिर्गमनको प्रभाव देखिएन, सूचकमा दोहोरो अंकको गिरावट

काठमाडौंमा ३५४ सहित थप ९८० जनामा कोरोना पुष्टि, १८१४ डिस्चार्ज, ९ जनाको मृत्यु Read Next

काठमाडौंमा ३५४ सहित थप ९८० जनामा कोरोना पुष्टि, १८१४ डिस्चार्ज, ९ जनाको मृत्यु