काठमाडौं । गत दुई सातामा करिब १०० अंकले बढेको सेयर बजारमा यो साताको पहिलो दिन दोहोरो अंकले गिरावट आएको छ ।
आज सेयर बजारमा तीव्र उतरचढाव देखिएको थियो । बजार खुल्न साथ करिब ४० अंकले बढेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो ।
सेयर बजार विरोधी भनेर आरोप लागेका अर्थमन्त्री युवराज खतिवडाको वहिर्गमनले बजारमा उछाल आउने लगानीकर्ताको अनुमान थियो । बजार खुल्न साथ बजारमा उछाल आए पनि त्यो दिनभर टिक्न सकेन र अन्त्यमा १० अंकले घटेर बन्द भयो ।सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ ।
सेयर बजार मापक सूचक नेप्से १०.४५ अंकले बढेर १४९९.९९ बिन्दुमा आइपुगेको छ । यसदिन १९१ कम्पनीको २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ७० लाख ३८ हजार ९९० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार र सामूहिक लगानी कोष समूह बाहेक अन्य १० समूहको समूहको परिसूचक ओरालो लागेका छन् । आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २२.६४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४०.४३ अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ४० करोड १३ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो ३ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा आज नेपाल बैंक र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली, राधि, जोशी र युनिभर्सल हाइड्रोपावको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।