यसकारण आकाशिँदै छ तरकारीको भाउ, कात्तिकदेखि मात्र घट्ने अनुमान

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको छ । कोरोना नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएपछि तरकारीको भाउ फेरि उकालो लागेको हो ।

 

यसअघि लकडाउनको बेला आकाशिएको तरकारीको भाउ लकडाउन हटेसँगै घटेको थियो । तर, भदौ ३ गतेदेखि पुनः निषेधाज्ञा जारी गरिएपछि तरकारीको भाउ बढ्न थालेको हो ।

 

निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत तरकारी खपत हुने ठाउँ बन्द छन् । खपत कम भए पनि आपूर्ति कम हुँदा तरकारीको भाउ निरन्तर बढेको व्यापारीहरु बताउँछन् ।

 

हाल बजारमा गोलभेँडा, आलु, काउली, बोडी, भिण्डी, प्याज लगायतका तरकारीहरुको मूल्य आकाशिएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारीको भाउ थोक मूलयमा करिब ४० प्रतिशतसम्म बढेको छ ।

 

करिब साताको अन्तरमा गोलभेँडाको भाउ थोक मूल्यमा प्रतिकिलो ३६ रुपैयाँसम्म वृद्धि भएको कालिमाटी तरकारी बजारको तथ्यांकले देखाएको छ । साउन अन्तिमसाता प्रतिकिलो २८ रुपैयाँ रहेको सानो गोलभेँडाको थोक मूल्य अहिले ५५ देखि ६८ रुपैयाँसम्म विक्री भइरहेको छ ।

 

यस्तै, ठूलो गोलभेँडामा २६ रुपैयाँ मूल्य वृद्धि भएको छ । ठूलो गोलभेँडा भदौ अगाडि ६२ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको थियो भने हाल ९८ रुपैयाँ प्रतिकेजी पुगेको छ । खुद्रा बजारमा हाल गोलभेँडाको भाउ प्रतिकिलो १३० रुपैयाँसम्म रहेको छ ।

 

यस्तै आलूको भाउ पनि करिब २० प्रतिशतले वृद्धि भएको छ । निषेधाज्ञा अघि नेपाली आलुको मूल्य ५६ रुपैयाँदेखि ६७ रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको थियो भने हाल बढेर ६५ रुपैयाँदेखि ७७ रुपैयाँ प्रतिकेजी पुगेको छ । भारतीय आलूको मूल्य भदौ अघि ५३ रुपैयाँ प्रतिकेजी रहेको थियो भने हाल बढेर ५९ रुपैयाँ प्रतिकेजी होलसेल मूल्य पुगेको छ । खुद्रा बजारमा भने आलु प्रतिकेजी ९० देखि ११० रुपैयाँ केजी रहेको छ ।

 

यस्तै, बजारमा काउली, प्याज, घिरौला, भिण्डी लगायत तरकारीको भाउ पनि करिब २० प्रतिशत हाराहारीमै बढेको छ । भदौ अघि प्रतिकिलो ११० रुपैयाँ रहेको काउलीको थोक मूल्य अहिले १३० रुपैयाँ पुगेको छ ।

 

बजारमा अहिले हरियो फर्सी, बन्दा, मूला, तितेकरेला, लौका लगायत तरकारीके भाउ पनि १५ प्रतिशत हाराहारीमा महँगिएको छ ।

 

यस्ता छन् तरकारीको भाउ बढ्नका कारण

 

कालिमाटी फल तथा तरकारी व्यवसाय संघका अध्यक्ष खोम प्रशाद घिमिरे पछिल्लो समय तराईमा उत्पादन नभएको र पहाडी क्षेत्रबाट मात्र उत्पादन भएको तरकारी पर्याप्त भएकाले तरकारीको मूल्य वृद्धि भएको बताउँछन् । उनका अनुसार हाल प्याज, गोलभेँडा र आलु भारतबाट धेरै आउने भएकाले यसको मूल्यमा केही वृद्धि भएको हो ।

 

भारतमा आलू र गोलभेँडाको मूल्य वृद्धि भएकाले नेपालमा पनि केही महँगो हुन गएको उनले बताए । नेपालमा तरकारीहरु उत्पादन गरेर राख्न मिल्ने ठूलो परिणामको कोल्ड स्टोर समेत नभएकाले यसले केही प्रभाव परेको उनले बताए ।

 

यस्तै, पछिल्लो समय लकडाउन, मल अभाव, बीउ अभाव लगायतका समस्याले ४० प्रतिशतका हाराहारीमा तरकारी उत्पादन घटेको र बजारमा आपूर्ति कम हुँदा भाउ आकाशिएको उनले बताए ।

 

‘तरकारी उत्पादन घटेको छ, अहिले पहाडी क्षेत्रको मात्र तरकारी ल्याइएको छ, यो अफ सिजन जस्तै हो, पहिला पनि यो समयमा तरकारीको मूल्य बढ्ने गर्थ्यो, अध्यक्ष घिमिरेले चाणक्य पोष्टसँग भने ‘यो पटक बीउ, मल अभावले ४० प्रतिशत हाराहारीमा तरकारी उत्पादन घटेको छ, त्यसले गर्दा मूल्यमा प्रभाव परेको छ ।’

 

पछिल्लो समय तराई क्षेत्रमा तरकारी उठाउने बेला नभएको र पहाडी क्षेत्रमा मात्र उत्पादन हुने तरकारीले उपत्यका र अन्य जिल्लाका बजारलाई नपुग्ने हुँदा मूल्य वृद्धि भएको उनले बताए ।

 

यस्तै, कालिमाटी फलफूल तथा तरकारी बजारमा हाल दैनिक साढे ५ सय देखि ६ सय टनसम्म तरकारी आपूर्ती हुने गरेका छन् । विगतमा यो समयमा ८ सय टनसम्म तरकारी आयात हुने गरेको अध्यक्ष घिमिरे बताउँछन् । हाल बजारमा आउने तरकारी मध्ये ५ प्रतिशत तरकारी तराईबाट आइरहेको र अन्य सबै पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी आइरहेको उनले बताए ।

 

नेपालमा आलू भुटान, बंगलादेश र भारतबाट आयात हुने गर्छ सबैभन्दा धेरै आलू भारतबाट आयात हुन्छ । यो पटक भारतमा समेत आलू र गोँलभेडा मूल्य बढेकाले नेपालमा बढेको उनले बताए । व्यपारीले होलसेल मूल्यमा विक्री गर्दा ढुवानी बाहेक १÷२ रुपैयाँ मात्र नाफा खाने गरेको उनले बताए ।

 

अहिले देशभरका अधिकांश तरकारी बजारहरु आंशिक रुपमा सञ्चालनमा रहेका छन् भने तरकारी ढुवानीमा कुनै समस्या नभएको उनले बताए ।

 

उनका अनुसार अब केही समयमा फेरि मूल्य घट्न थाल्ने छ । असोजसम्म तरकारीको मूल्य यस्तो रहे पनि कात्तिकदेखि भने तरकारीको मूल्य घट्ने उनले बताए । कात्तिकपछि तरकारीहरु तराई क्षेत्रबाट आउन सुरु हुने भएकाले तरकारीको मूल्य घट्ने उनले बताए ।

 

‘अहिले तरकारी कम आपूर्ति र उत्पादन पनि कम भएकाले मूल्य बढेको हो, असोजसम्म यस्तै हो, कात्तिक पछि तराईबाट पनि तरकारी आउन थाल्छ त्यसपछि विस्तारै मूलय घट्दै जान्छ,’ अध्यक्ष घिमिरेले चाणक्य पोष्टसँग भने ।

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने डेढ अर्ब घट्यो Read Previous

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने डेढ अर्ब घट्यो

काठमाडौंमा ४४५ सहित अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि, ९१७ डिस्चार्ज, ६ जनाको मृत्यु Read Next

काठमाडौंमा ४४५ सहित अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि, ९१७ डिस्चार्ज, ६ जनाको मृत्यु