काठमाडौं । सेयर बजारमा आज करेक्शन देखिएको छ । यो साता सुरुका ३ दिनमा करिब ५२ अंकले बढेको बजारमा आज झिनो करेक्शन आएको हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करिब डेढ अर्बले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ०.१५ अंकले घटेर १५१०.४२ बिन्दुमा पुगेको छ । यसदिन १८६ कम्पनीको २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ । ९३ लाख २ हजार ९७० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ५ समूहको परिसूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६७.३४ अंकले बढेको छ भने उत्पादनमूलक समूहको परिसूचक ३५.९४ अंकले बढेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ४१ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो ३ सातादेखि पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुनेमा शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा शिखर र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, एनआरएन डेभलपमेन्ट, अरुण काबेली र जोशी हाइड्रोपावरको सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । पाँचथर पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.९९ प्रतिशत गुमाएका छन् ।