काठमाडौं । चालू आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा निजी क्षेत्रहरुबाट ६४ करोड ४० लाख रुपैयाँ बराबरका पीसीआर किट आयात भएका छन् ।
सो अवधिमा ५६ हजार ९८७ केजी पीसीआर किट आयात भएका हुन् । सो किट आयातका क्रममा ७ करोड ५६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा कुल २ अर्ब ९७ करोड ९९ लाख रुपैया बराबरको पीसीआर किट आयात गरिएको थियो । सो अवधिमा ७ लाख ७३ हजार ९ सय ८४ पीसीआर किट आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो किट आयातका क्रममा ३४ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
केमिकल तथा मेडिकल सप्लायर्स संघले पछिल्लो समय औषधि आयातमा समय केही ढिला हुने भए पनि आयातमा भने समस्या नभएको बताए । संघका सदस्य भक्त हमालकाले पीसीआर किटहरु सीधैै हवाइजहाजबाट आउने भएकाले उडान सुरु नहुँदा केही समस्या भए पनि चाटर्ड जहाजहरुबाट आयात भइरहेको बताए ।
‘आयातमा समस्या छैन तर, भनेको समयमा आइपुग्दैन, एक पटक अडर गरेको किट ल्याउन धेरै समय कुर्नु पर्छ,’ हमालले चाणक्य पोष्टसँग भने ।
पीसीआर किटहरु प्रायः कोरिया, जर्मन लगायतका देशहरुबाट आयात गरिन्छ । पछिल्लो समय विश्वभर फैलिरहेको कोभिड १९ महामारी नेपालमा पनि क्रमशः बढी रहेको छ । भारतका सबै नाकामा अत्यावश्यक वस्तु बाहेकका सामग्री निर्यातमा रोक लगाइएको छ ।
भारतले सिटामोल निर्यातमा समेत रोक लगाएको छ । भारतले प्यारा सिटामोल निर्यातमा रोक लगाएको हो । जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री समेत निर्यातमा रोक लगाएको छ । साथै ती सामग्रीबाट बन्ने औषधिको निर्यातमा समेत रोक लगाएको हो ।
भारतले २०७६ फागुन २० गतेबाट औषधि निर्यातमा रोक लगाएको छ । भारतले नियन्त्रण रोक गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ । यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरी सबभन्दा धेरै प्रयोग गरिने औषधि हो ।
चालू आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा १ अर्ब ८८ करोड २५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तुहरु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको थियो । यो गत वर्षको तुलनामा यो आवको एक महिनामा ८५ करोड ६६ लाख ५४ हजार रुपैयाँ कम मूल्य बराबरका औषधिहरु आयात भएका हुन् ।
गत आर्थिक वर्ष २०७६/७७ मा कुल २८ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तुहरु आयात भएको थियो । सो अवधिमा १ करोड ९९ लाख १७ हजार केजी औषधिहरु आयात भएका थिए । सो औषधि आयातका क्रममा १ अर्ब ४० करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा ३० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधि आयात भएको थियो । सो अवधिमा ६० करोड २७ लाख केजी औषधि आयात गरिएको थियो । सो औषधि आयातका क्रममा १ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको थियो । नेपालमा धेरै औषधिहरु भारतहुँदै आयात हुने गर्छन् । जसको प्रभाव नेपालमा परेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।