चियाको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित, उद्योगीले ४० रुपैयाँको भाउ २० मा झारे

चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् । सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् ।

 

सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरेका छन् ।

 

यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै न्यूनतम प्रतिकिलो ४० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यद्यपि सो रकम घटाएर हाल २० देखि ३० रुपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजीले बताए।

 

एक किलो चिया उत्पादनमा किसानको ३७.५ रुपैयाँ खर्च हुने गरे पनि वर्षकै शुरुमा उत्पादन भएको चियाको मूल्य २० रुपैयाँ दिन खोजेकाले किसान मारमा परेको उनको भनाइ छ ।

 

किसानले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न माग गरेका छन् । अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरुले माग राख्दै आएका छन् । रासस

पिलुवा खोला जलविद्युतमा सिटिजन्स बैंकको नेतृत्वमा ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने Read Previous

पिलुवा खोला जलविद्युतमा सिटिजन्स बैंकको नेतृत्वमा ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने

तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका मोदीलाई धक्का, भारतीय अर्थतन्त्र शिथिल Read Next

तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका मोदीलाई धक्का, भारतीय अर्थतन्त्र शिथिल