पिलुवा खोला जलविद्युतमा सिटिजन्स बैंकको नेतृत्वमा ३ बैंकले १ अर्ब ३२ करोड लगानी गर्ने

काठमाडौं । सिटिजन्स बैंकको अगुवाईमा डाउन पिलुवा खोला जलविद्युत आयोजनामा ३ बैंकले १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

 

उक्त आयोजनामा सिटिजन्स बैंकसहित नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तीयकरण मार्फत लगानी गर्ने भएका हुन् । जसमा सिटिजन्स बैंकले ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड र प्रभु बैंकले २५ करोड लगानी गर्ने भएक हुन् ।

 

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड रहेकोमा बैंक ऋणबाट ७० प्रतिशत र प्रवद्र्धकहरुबाट ३० प्रतिशत स्वपूँजी जुटाउनेछन् ।

 

रिभर फल्स् पावरद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित १०.३० मेगावाट क्षमताको आयोजना निमार्ण गरिनेछ।

 

कम्पनीले यस आयोजना २.५ वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ ।

 

आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८ गिगावाट घण्टा विद्युत् उत्पादन हुन्छ ।

 

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा पनि परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको बताए। उनले सहभागी सबै बैंकलाई आभार व्यक्त गर्दै प्रवर्द्धकलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध समेत गरे।

 

कम्पनीका कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी दिए। उनले परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन ठाउँमा कहिले उड्छ ? Read Previous

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन ठाउँमा कहिले उड्छ ?

चियाको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित, उद्योगीले ४० रुपैयाँको भाउ २० मा झारे Read Next

चियाको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित, उद्योगीले ४० रुपैयाँको भाउ २० मा झारे