भारतीय अर्थतन्त्रमा चालू वर्षको दोस्रो त्रैमासमा २३.९ प्रतिशतको गिरावट आएको छ । दशकौं यताको यो सबैभन्दा ठूलो गिरावट कोरोना भाइरस नियन्त्रणको लागि लागू गरिएको लकडाउन र त्यस सम्बद्ध नियन्त्रणको कारण भएको हो ।
विश्वका ठूलो अर्थतन्त्रहरु मध्ये भारतीय अर्थतन्त्रको यो गिरावट सबैभन्दा ठूलो र व्यापक हो । यो वर्षको दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा ९.५ र जापानी अर्थतन्त्रमा ७.६ प्रतिशतको गिरावट आएको छ ।
भारतीय अर्थतन्त्रमा चालू वर्षको दोस्रो त्रैमासमा २३.९ प्रतिशतको गिरावट आएको छ । विश्वका ठूलो अर्थतन्त्रहरु मध्ये भारतीय अर्थतन्त्रको यो गिरावट सबैभन्दा ठूलो र व्यापक हो । यो वर्षको दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा ९.५ र जापानी अर्थतन्त्रमा ७.६ प्रतिशतको गिरावट आएको छ ।
भारत सरकारले सार्वजनिक गरेको तथ्याङकले यो अवधिमा निर्माण, उत्पादन र यातायात क्षेत्रमा धेरै प्रभाव परेको उल्लेख गरिएको छ । सन् १९९६, जबदेखि भारतमा कुल ग्राहस्थ उत्पादनको मापन गर्न थालियो, पछिको यो सबैभन्दा ठूलो आर्थिक गिरावट भएको बताइएको छ ।
भारतका धेरै कामदारहरु अनौपचारिक क्षेत्रमा काम गर्ने भएका कारण पनि भारतको आर्थिक अवस्थाको तस्वीर केही जटिल छ । यस्ता क्षेत्रहरुमा सरकारको पहुँच छैन । रिक्सा चालक, टेलर, दैनिक ज्यालादारी मजदूर लगायतले आफ्नो रोजगारी यो समयमा गुमाएका छन् । यदि यस्तो अनौपचारिक क्षेत्रको हेक्का राख्ने हो भने भारतीय अर्थतन्त्रको गिरावट अझ सघन र व्यापक हुने अर्थशास्त्रीहरु औल्याउँछन् ।
‘पहिलो त्रैमासको कडा लकडाउनले मानिसहरुले रोजगारी र आम्दानी गुमाए’ इक्रा क्रेडिट रेटिङ एजेन्सीकी अर्थशास्त्री अदिती नायर भन्छिन्, ‘अब थप तथ्याङ्कहरु आउन थालेपछि अनौपचारिक क्षेत्रमा अझ धेरै संकुचन आउने देखिन्छ ।’
गत मार्च महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै कडा लकडाउनको घोषणा गरेका थिए । उक्त लकडाउनले भारतीयलाइ घरभित्रै थुन्यो र धेरै व्यवसायहरु र यातायात सेवा बन्द भए ।
रोजगारीका लागि सहर पसेका दशौंलाख कामदारहरु गाउँ फर्के । जब अर्थतन्त्र अझै संकुचित हुन थाल्यो तब अधिकारीहरुले लकडाउनलाइ विस्तारै केही खुकुलो पार्न थाले । तर, यसको भाइरसको फैलावटलाइ अझै तीव्र बनायो । अहिले भारतमा दैनिक विश्वकै सबैभन्दा धेरै संक्रमितहरु भेटिन थालेका छन् ।
१.३ अर्ब जनसंख्या रहेको भारत केही वर्ष अघिसम्म विश्वको तीव्र गतिमा वृद्धि भइरहेको ठूलो अर्थतन्त्र मध्येको एक थियो । उक्त समयमा भारतको वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत वा सोभन्दा बढी थियो ।

तर, अहिलेको महामारीभन्दा अघिदेखि नै भारतीय अर्थतन्त्र सुस्ताउन थालिसकेको थियो । उदाहरणको लागि गत वर्षको अगस्ट महिनामा भारतमा कारको विक्री ३२ प्रतिशतले घटेको थियो ।
गत सोमबार भारत सरकारले सार्वजनिक गरेको तथ्याङकले उपभोक्ताको खर्च, निजी लगानी र निर्यात सबैमा धेरै प्रभाव परेको देखाएको छ । व्यापार, होटल र यातायातमा ४७ प्रतिशतको गिरावट आएको छ । भारतको कुनैबेलाको भिमकाय क्षेत्र उत्पादनमा ३९ प्रतिशतको संकुचन आएको छ ।
भारतीय अर्थतन्त्रमा केही उज्यालो, तर मधुरो, कृषि क्षेत्रले मात्र छरेको छ । मनसुनमा पर्याप्त वर्षा भएका कारण गत वर्षको ३ प्रतिशतले बढेको यो क्षेत्र यो वर्ष ३.४ प्रतिशतले बढेको छ ।
भारतमा अहिले व्यापक रुपमा बढिरहेको यो संक्रमणको कारणले अर्थतन्त्रको ‘रिकभरी’ अझै पछाडि धकेलिने अर्थशास्त्रीहरु बताउँछन् । केन्द्रीय बैंक माथि अझै धेरै आर्थिक प्याकेजहरु ल्याउन र ब्याजको दर घटाउनको लागि दबाव परेको छ ।
अर्थशास्त्री नायरका अनुसार भारतका केही क्षेत्रको अर्थतन्त्र ‘रिकभर’ हुन थालेको भए पनि बढ्दो संक्रमण र त्यसको नियन्त्रणका लागि चालिने विभिन्न कदमहरुले त्यस्तो ‘रिकभरी’ स्थायी ढंगले भइरहेको छैन । भारतमा हाल ३६ लाख संक्रमित पुगिसकेका छन् भने दैनिक ८० हजार संक्रमित भेटिइरहेका छन् । भारतमा भारइरसको मृत्युदर भने पश्चिमा देशहरुको भन्दा केही कम देखिएको छ । महामारी सम्बन्धी विज्ञहरु जनसंख्यामा युवाहरुको वाहुल्यता भएका कारण यस्तो भएको बताउँछन् ।
भारतका २८ वटा राज्यहरु अहिले अर्थतन्त्र खोल्ने अनि फेरि संक्रमण बढ्न थालेपछि बन्द गर्ने चक्रमा फसिरहेका छन् । यसको व्यवसायहरुलाई पनि अल्मल्याएको छ र मानिसहरु बनार र सपिङ मलहरुबाट टाढै छन् ।
मोदीले भारतको अर्थतन्त्रको आकार सन् २०२४ सम्म ५ ट्रिलियन डलरको बनाउने घोषणा गरेका थिए, गएको चुनावमा । उनले सन् २०२४ मा तेस्रो पटक प्रधानमन्त्री हुने अपेक्षा राखेको देखिन्छ । सन् २०१९ मा भारतको अर्थतन्त्रको आकार २.९ ट्रिलियन डलर रहेको छ । भारत हाल अमेरिका, चीन, जापान र जर्मनी पछाडि सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर, धेरै अर्थशास्त्रीहरुको बुझाइमा आगामी वर्ष भारतको अर्थतन्त्र अहिलेको भन्दा १० प्रतिशत सानो हुनेछ ।
प्राध्यापक अरुण कुमारका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने दशौं लाख आप्रवासी कामदारहरु, जसले रोजगारी गुमाएका छन्, उनीहरुको पीडा धेरै मानिसहरुले महशुस गरेको भन्दा ठूलो छ । ‘सरकारले अनौपचारिक क्षेत्रको पनि गणना गर्ने हो भने अहिलेको अर्थतन्त्रको गिरावट ४० प्रतिशत हुने मेरो अनुमान छ,’ उनी भन्छन् ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले अर्थतन्त्रको यो अवस्था कोरोना भाइरसको कारणले भएको बताएकी छिन् र यो अवस्थालाई उनले ‘एक्ट अफ गड’ (भगवानको काम) को संज्ञा दिएकी छिन् ।
तर, विपक्षी पार्टीका नेताहरुले महामारी भन्दा पहिले देखि नै भारतीय अर्थतन्त्र लडखडाउन थालिसकेको बताएका छन् । सोमबारको तथ्याङकमा देखाएको कृषि क्षेत्रको सुधारको कारणलाइ उनीहरुले व्यङ्ग्यात्मक ढंगले ‘थ्याङ्क्स टु एन ‘एक्ट अफ द रेन गड’’ (इन्द्र देवतालाई धन्यवाद) भनेका छन् ।
एजेन्सीको सहयोगमा