काठमाडौं । बजारमा कुखुराको मासुको भाउ ह्वात्तै घटेको छ । पछिल्लो समय लगाइएको निषेधाज्ञाका कारण बजारमा माग कम भई खपत घट्दा मूल्यमा ठूलो गिरावट आएको हो ।
अघिल्लो पटक लकडाउनमा पनि कुखुराको मासुको भाउ ह्वात्तै घटेको थियो । निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत मासु खपत हुने ठाउँहरु बन्द हुँदा बजारमा मासुको माग ह्वात्तै घटेको हो ।
यस्तै, उपभोक्ताहरुमा पनि मासुबाट कोरोना संक्रमण सर्छ भन्ने सन्त्रास फैलिँदा मासु बिक्नै छाडेको व्यापारीहरु बताउँछन् । कुखुराको मासु विक्री नै हुन छाडेपछि यसको मूल्य ह्वातै घटेको उनीहरुको भनाइ छ ।
अहिले बजारमा कुखुराको मासुको भाउ गुन्द्रुकको भन्दा पनि सस्तो भएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज गुन्द्रुकको थोक मूल्य नै प्रतिकेजी २९५ रुपैयाँ रहेको छ । यो कुखुराको मासुभन्दा प्रतिकेजी ५० रुपैयाँ महँगो हो ।
विगतमा प्रतिकेजी ४५० रुपैयाँ पुगेको कुखुराको मासु पछिल्लो समय २५० रुपैयाँ भन्दा कममा झरेको छ । नेपाल पोल्ट्री व्यवसायी संघका अध्यक्ष टिकाराम सापकोटाले सामान्य अवस्थाकै हाराहारीमा कुखुरा उत्पादन भइरहे पनि बजारमा माग घट्दा मूल्यमा ठूलो गिरावट आएको बताए ।
‘अहिले प्रतिहप्ता करिब ३० लाख हाराहारीमा कुखुरा उत्पादन भइरहेका छन्, ’ उनले भने ‘तर निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत धेरै मासु खपत हुने ठाउँ बन्द छन् । उपभोक्ताहरुमा पनि मासुबाट संक्रमण फैलिन्छ भन्ने डर छ । यसले गर्दा मागको ठूलो गिरावट आउँदा मासुको मूल्यमा ठूलो गिरावट आएको हो ।’ पछिल्लो २ हप्तामा मासुको मूल्य झन्डै ५० प्रतिशतले घटेको उनको भनाइ छ ।
पहिलोपटक लकडाउन हुनु (चैैत ११) अघि कुखुराको मासु प्रतिकेजी २५० रुपैयाँ रहेको थियो पछि असार १ गतेबाट लकडाउन खुकुलो बनाइयो । त्यसपछि बजारमा विस्तारै चहलपहलबढेसँगै कुखुराको मूल्य आकाशिँदै गएको थियो । ४६० रुपैयाँ प्रतिकेजीसम्म पुगेको कुखुराको मासुको मूल्य ५०० रुपैयाँ प्रतिकेजीसम्म पुग्ने अनुमान गरिएको थियो ।
यद्यपि कुखुराको मासुको मूल्य घटे पनि अण्डाको मूल्य भने यथावत नै रहेको छ । हाल कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ३५० देखि ३९० रुपैयाँ रहेको छ ।
पछिल्लो समय बजारमा हरियो तरकारीको भाउ आकाशिँदै गएपनि कुखुराको मासुको भाउ भने ह्वात्तै घट्दै गएको छ । अहिले कुखुराको मासुको भाउ च्याउ, कुरिलो लगायत तरकारीभन्दा सस्तो भएको छ । अहिले बजारमा डल्ले च्याउ प्रतिकेजी ३१०, कुरिलो प्रतिकेजी ३५० रुपैयाँ रहे पनि मासुको भाउ भने २५० रुपैयाँ हाराहारी मात्र रहेको छ ।
अझ रोचक त के छ भने अहिले बजारमा कुखुराको मासुको भाउ गुन्द्रुकको भन्दा पनि सस्तो भएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज गुन्द्रुको थोक मूल्य नै प्रतिकेजी २९५ रुपैयाँ रहेको छ । यो कुखुराको मासुभन्दा प्रतिकेजी ५० रुपैयाँ महँगो हो ।
दैनिक साढे ११ करोड नोक्सान
सापकोटाका अनुसार अहिले कृषकले उत्पादन गरेको कुखुराले बजार नपाउँदा पोल्ट्री क्षेत्रमा दैनिक ११ करोड ६३ लाख ७५ हजार रुपैयाँ नोक्सानी भइरहेको छ । पोल्ट्री फर्ममा दैनिक ४० करोड ३५ लाख ९० हजार रुपैयाँ उत्पादन लागत रहेको छ । १६ करोड २५ लाख रुपैयाँ बारबरको सामग्री विक्री हुने गरेको छ ।

पोल्ट्री व्यवसायमा पछिल्लो समय चल्लामा मात्र दैनिक २ करोड ७ लाख ८५ हजार रुपैयाँ नोक्सानी हुने गरेको उनको भनाइ छ । ‘लकडाउन हुँदा सुरुमा भोग्नु परेको भन्दा दोब्बर घाटा अहिलेको लक डाउनमा बेहोर्नु परेको छ,’ अध्यक्ष सापकोटाले चाणक्य पोष्टसँग भने ।
एक सातामा चल्लामा कुल लागत मूल्य १८ करोड ९० लाख रुपैयाँ रहेको छ । सोही चल्ला ४ करोड ३५ लाख रुपैयाँ हाराहारीमा विक्री हुने गरेका छन् । पोल्ट्री व्यवसायीहरुले कुखुराको चल्लामा साताको १४ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ ।
उनका अनुसार देशभर प्रतिहप्ता ३० लाख हाराहारीमा ब्रोइलर कुखुरा उत्पादन हुने गरेका छन् । प्रतिहप्ता बोइलर कुखुराको उत्पादन लागत ७५ रुपैयाँ हुने गर्छ । कुल ब्रोइलर कुखुरा उत्पादनको लागत मूल्य १७ करोड १० लाख रुपैयाँ रहेको छ । उत्पादन भएका मध्ये १५ लाख ब्रोइलर कुखुरा मात्र विक्री हुने गरेका छन् । सो कुखुराका चल्ला प्रतिगोटा २० रुपैयाँमा विक्री हुने गरेको उनले बताए । बोइलर कुखुरामा प्रति हप्ता १४ करोड १० लाख रुपैयाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था रहेको उनले बताए ।
यस्तै लेयर्स चल्ला प्रति हप्ता २ लाख उत्पादन हुने गरेका छन् । सो चल्लाको उत्पादन मूल्य हप्तामा ९० रुपेयाँ रहेको छ । २ लाख लेयर्स चल्ला उत्पादन लागत १ करोड ८० लाख रुपैयाँ रहेको छ । सो मध्ये हप्तामा १ लाख ५० हजार कुखुरा विक्री हुने गरेको छ । सो कुखुराका चल्ला प्रतिगोटा ९० रुपैयाँमा विक्री हुने गरेको छ । हप्तामा १ करोड ३५ लाख रुपैयाँ बराबरको कुखुराका चल्ला विक्री हुने गरेका छन् । लेयर्स कुखुराका चल्लामा पोल्ट्री फमले ४५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ ।
कुखुराको मासु दैनिक ९ लाख केजी विक्री हुने गरेको छ । एउटा कुखुराको लागत मूल्य २ सय रुपैयाँ हुने गरेको छ । कुल ९ लाख कुखुराको उत्पादन लागत १८ करोड रुपैयाँ हुने गरेको छ । सो कुखुरा १ सय १० रुपैयाँमा विक्री गर्नु परेको पोल्ट्री व्यवसायीहरुको गुनासो रहेको छ । सरी १ सय १० रुपैयाँ प्रतिकेजी कुखुरा विक्री गर्दा ८ करोड १० लाख रुपैयाँ मासुमा घाटा बोहोर्नु परेको व्यवसायी बताउँछन् ।
अण्डा दैनिक ३० लाख गोटा उत्पादन हुने गर्छ । प्रतिगोटा अण्डाको उत्पादन लागत ११ रुपैयाँ ५३ रुपैयाँ रहेको छ । कुल ३० लाख अण्डाको उत्पादन लागत ३ करोड ४६ लाख ९० हजार रुपैयाँ रहेको छ । सो खण्डा दैनिक २० लाख गोटा विक्री हुने गरेको छ । सो खण्डा प्रतिगोटा १० रुपैयाँमा विक्री हुने गरेको उनी बताउछन् ।
दैनिक २ करोड रुपैयाँ बाराबरको अण्डा विक्री हुने गरेको छ । खण्डामा १ करोड ४५ लाख रुपैयाँ घाटा पोल्ट्री फमले बेहोर्नु परेको छ।दैनिक अण्डाको उत्पादन लागत २१ करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ । जम्म ११ करोड ९० लाख रुपैयाँ बाराबरको अण्डा विक्री हुने गरेका छन् । अण्डामा दैनिक ९ करोड ५५ लाख ९० हजार रुपैयाँ नोक्सानी बोहोर्नु परेको व्यवसायीहरुको गुनासो रहेको छ ।
पोल्ट्री व्यावसायी संघका अध्यक्ष सापकोटाका अनुसार पछिल्लो समय कुखुराको माग कम भएसँगै घाटा बेहोरेर विक्री गर्दा समेत विक्री हुन नसकेको उनी बताउँछन् । ‘मासुबाट कोरोना सर्दैन, हाम्रो राम्रोसँग मरमसला हालेर पकाएर खाने बानीले कोरोनालाई मार्ने भएकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,’ उनले भने ।
यस्तै नेपाल ह्याचरी एण्ड ब्रिडिङ फामका सञ्चालक रामहरी ढकाल कुखुरा व्यवसायमा पूरै घाटा बेहोर्नु परेको बताउँछन् । उनी सुरुको ३ महिनामा त्यति घाटा बेहोर्नु नपरेको र लक डाउन खुलेपछि व्यवसाय बढाउने तयारीमा रहेको तर, पुनः लकडाउन भएपछि व्यवसाय नै छाड्नु पर्ने अवस्थामा पुगेको बताउँछन् ।
उनले विगतमा ७० रुपैयाँ प्रतिगोटा बोइलर कुखुराका चल्ला विक्री गर्ने गरेकोमा हाल २० रुपैयाँमा समेत मुस्किलले विक्री हुने गरेको बताए । विगतमा २७० प्रतिगोटा कुखुरा विक्री गर्ने गरेकोमा अहिले १२० रुपैयाँमा विक्री गर्दा समेत विक्री हुन नसकेको बताए । उनले दैनिक २ देखि ५ लाख रुपैयाँका हाराहारीमा घाटा बेहोर्नु परेको बताए ।
‘सुरुमा लक डाउन हुँदा ३ महिना त्यती गाह्रो भएको थिएन, बीचमा लकडाउन खुल्ला भयो, त्यसपछि अब त व्यवसाय अघि बढ्छ होला भनेर उत्पादन बढाएको थिए,’ ह्याचरी व्यवसायी ढकालले चाणक्यपोष्टसँग भने ‘तर, फेरि लकडाउन भयो, अहिले पहिलेको भन्दा दोब्बर घाटा छ, १ प्रतिशत विक्री हुन्छ ९९ प्रतिशत त घाटै छ ।’ उनले पछिल्लो सयम बीचमा भएको लकडाउनले पोल्ट्री क्षेत्रमा ठूलो धक्का पुगेको बताए ।
नेपालमा सामान्य अवस्थामा कुखुराको मासुको माग दैनिक ९ लाख देखि १० लाख केजी रहेको थियो । हाल कोरोनाका कारण दैनिक कुखुराको मासुको माग ६ देखि ७ लाख केजी रहेको व्यवसायी बताउँछन् ।
अहिलेको कोरोनाले प्रभावित बनाएको पोल्ट्री व्यवसाय सामान्य अवस्थामा आउन दुई वर्ष लाग्ने ढकालले बताए । धेरै किसानहरु पोल्ट्री फमबाट पलायन हुन सक्ने सम्भावना समेत रहेको उनको भनाइ छ ।