जेफ बेजोस बने २ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति, एकैदिन थपियो ५ अर्ब

ई-कमर्श कम्पनी अमेजनका मालिक जोफ बेजोस

काठमाडौं । अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको २ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

 

फोर्ब्सका अनुसार बिहीबार अमेजनको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेर उनको कुल सम्पत्ति २ खर्ब ४ अर्ब ६० करोड डलर पुगेको छ । यो सँगै उनले २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्तिको रुपमा इतिहास रच्न सफल भएका छन् ।

 

अमेजनको सेयर मूल्य बढेसँगै एकैदिन उनको सम्पत्ति ५ अर्ब डलर थपिएको छ । सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरमा वृद्धि भएसँगै कूल सम्पत्ति २ खर्ब डलर नाघेको हो ।

 

बेजोससँग अमेजन बाहेक एरोस्पेस कम्पनी ब्लु ओरिजिन, वाशिङटन पोष्ट लगायतको समेत स्वामित्व रहेको छ । तथापि अमेजन कम्पनीमा भएको उनको ११ प्रतिशतको सेयर हिस्साले उनको कूल सम्पत्तिको ९० प्रतिशत ओगटेको छ ।

 

कोरोना महामारी सुरु भएसँगै ई–कमर्श कम्पनी अमेजनको व्यापार तथा आम्दानीमा तीव्र वृद्धि भैरहेको छ । सन् २०२० सुरु भएयता अमेजनको सेयर मूल्यमा ८० प्रतिशतको बढोत्तरी भैसकेको छ । जसका कारण सन् २०२० को जनवरी १ मा १ खर्ब १५ अर्ब डलर मात्र सम्पत्ति भएका बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको हो ।

 

गत वर्षको जुलाइमा पूर्वपत्नी म्याकिन्जी स्कटसँग सम्बन्धविच्छेद गर्दा बेजोसले उनलाई आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा दिएका थिए।

 

विश्वका अर्बपतिहरुको पहिलो स्थानमा रहेका बेजोसको सम्पत्तिको तुलनामा दोस्र स्थानमा रहेका बिल गेट्सको भन्दा ८८ अर्ब डलर बढी छ ।गेट्सको सम्पत्ति १ खर्ब १६ अर्ब रहेको छ ।

– एजेन्सी

लकडाउनपछि गति लिएको नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि सुस्त, असोजदेखि सुरुङ खन्ने तयारी Read Previous

लकडाउनपछि गति लिएको नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि सुस्त, असोजदेखि सुरुङ खन्ने तयारी

काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन गर्न भारतको चासो, कोभिड कम भएपछि अध्ययन टोली आउने Read Next

काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन गर्न भारतको चासो, कोभिड कम भएपछि अध्ययन टोली आउने