काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन गर्न भारतको चासो, कोभिड कम भएपछि अध्ययन टोली आउने

काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड-१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ ।

 

रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उनको भनाइ छ । अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने हुनसक्छ । उनले भने, ‘कोभिड सङ्क्रमण कम भएपछि मात्रै अघि बढ्न सक्छ ।’

 

२ वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो ।

 

भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो ।

 

भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो । सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् ।

जेफ बेजोस बने २ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति, एकैदिन थपियो ५ अर्ब Read Previous

जेफ बेजोस बने २ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति, एकैदिन थपियो ५ अर्ब

चीनले बनाएको कोरोनाको खोपको मूल्य तोकियो, एक डोजको कति Read Next

चीनले बनाएको कोरोनाको खोपको मूल्य तोकियो, एक डोजको कति