काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण निषेधाज्ञका कारण फेरि सुस्त भएको छ । लकडाउन, कामदार अभाव, मुआब्जा विवाद लगायत कारणले गति लिन नसकेको आयोजनाको काम असारदेखि गति लिएको थियो । तर, भदौ ३ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण पुनः सुरुङमार्गको काम सुस्त भएको हो ।
गत कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन । अहिले जग्गा विवाद पनि सुल्झिएको र लकडाउन हटेसँगै उपत्यका बाहिर गएका कामदार आएकाले अब भने सुरुङमार्ग निर्माणले गति लिने अनुमान गरिएको थियो । तर, सरकारले फेरि निषेधाज्ञका कारण निर्माण स्थलमा सोचेजसत गतिमा काम हुन नसकेकोे आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन ।
जेठ अन्तिमबाट सुरुङ खन्ने भनिए पनि कामदार कमी र लकडाउनका कारणले कामले गति लिन सकेको छैन । सुरुङ खन्नका लागि आवश्यक उपकरण ल्याइसकिएको छ भने विस्फोटक पदार्थ ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
चैतदेखि लगाइएको लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि सुरुङ निर्माणको कामले गति लिन थालेको थियो । अहिले आयोजनाको सुरुङ खन्न सुरु गर्नु अगाडि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । सुरुङमार्गको प्रवेशद्वारको फाउन्डेशन निर्माण, माटो ओसार्ने ट्रयाक लगायत काम भइरहेको आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार कोभिड १९ का कारण केही जापानी कामदार आइनपुग्दा पनि आयोजनाको अपेक्षित काम हुन नसकेको हो । उनका अनुसार सुरुङमार्ग निर्माणको मुख्य काम जापनिज कामदारले गर्ने र उनीहरु नहुँदा कामले गति लिन नसकेको हो ।
जेठ अन्तिमबाट सुरुङ खन्ने भनिए पनि कामदार कमी र लकडाउनका कारणले कामले गति लिन सकेको छैन । सुरुङ खन्नका लागि आवश्यक उपकरण ल्याइसकिएको छ भने विस्फोटक पदार्थ खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताइन ।
‘विस्फोटक पदार्थ ल्याउनका लागि सबै प्रकृया पूरा भइसकेको छ, अब ल्याउने काम मात्र बाँकी हो, पास वितरण नभएकाले अलि ढिला हुन सक्छ,’ इन्जिनीयर अधिकारीले चाणक्य पोष्टसँग भनिन् ।
हाल नेपाली कामदारले माटो भर्ने, कटिङ, ट्याङ्क लगायतका काम गरिरहे पनि सुरुङ खन्ने काम जापानी प्राविधिकहरुले गर्ने उनले जानकारी दिइन् । ‘केही जापानी टोलीहरु आएका छैनन्, उनीहरु लकडाउनकै कारण आफ्नै देशमा रोकिएकाले कामले गति लिन सकेको छैन,’ उनले भनिन् ।उनले सुरुङ निर्माणका क्रममा पानीको सतह कम हुने भएकाले त्यसका समाधानका लागि ३ वटा रिजर्म ट्याङ्क निर्माणको काम भइरहेको बताइन् ।
सडक विभागका सूचना अधिकारी अर्जुन सुवालका अनुसार अहिले माटोभर्ने, फाउन्डेशन तयार गर्ने लगायत काम भइरहेको छ । अहिलेसम्म ३०० मिटरको हाराहारीमा एप्रोचको काम भएको उनले जानकारी दिए ।गत आवमा वित्तीय प्रगति केही बढी भए पनि भौतिक प्रगति धेरै हुन नसकेको आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको छ । वित्तीयतर्फ ३५ प्रतिशत प्रगति भएको नागढुंगा सुरुङमार्ग आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन ।
उनका अनुसार गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।
सुरुङ खन्ने काम असोजदेखि सुरु हुने
आयोजनाको सुरुङ खन्ने काम आगामी असोजदेखि सुरु हुने भएको छ । जेठ अन्तिमबाट सुरुङ खन्ने भनिए पनि कामदार कमी र लकडाउनका कारणले कामले गति लिन सकेको थिएन । इन्जिनीयर अधिकारीले सुरुङ निर्माण गर्नका लागि विस्फोटक पदार्थ चाहिने भएकाले लकडाउनका कारण उक्त सामग्री आयात हुन नसकेको बताइन् ।
उनले हाल पास उपलब्ध हुन नसकेकाले सवारीसाधन ल्याउन सकिएको छैन । उनले असोजसम्म सुरुङ खन्ने काम सुरु गर्ने बताइन् । चाँडै विस्फोटक पदार्थ समेत आयात हुने र लकडाउन खुले कामले गति लिने बताइन । ‘अहिले जति कर्मचारी छन्, त्यतीमै काम चलाइ रहेका छौँ, सक्ने काम भइरहेको छ तर, सोचे जति गति लिन सकेको छैन,’ अधिकारीले भनिन् ।
आयोजनाका लागि ९०० टन विस्फोटक पदार्थ चाहिने भएपनि पहिलो चरणमा ३०० टन विस्फोटक पदार्थ खरिदका लागि नेपाली सेनाले स्वीकृति समेत दिइसकेको छ । सेनाको स्वीकृतिसँगै विस्फोटक सामग्री खरिदको काम सुरु गरिएको उनले जानकारी दिइन् ।
‘विस्फोटकका सामग्री भारतबाट ल्याउनु पर्ने छ, त्यो लकडाउनका कारण ल्याउन सकिएको छैन, लकडाउन नखुलेकाले विस्फोटक पदार्थ आउनु अघि असोजबाट विस्तारै हातैले खनेर पछि विस्फोटकको प्रयोग गरिनेछ,’ इन्जिनीयर अधिकारीले चाणक्य पोष्टसँग भनिन् । सुरुङ खन्न आवश्यक उपकरण समेत निर्माणस्थलमा आइपुगेको आयोजनाले जनाएको छ ।
यस्तै भूमि अधिग्रहण तर्फ बलम्बुमा ११.८ रोपनी जमिन अधिग्रहणका लागि मूल्याङकनको क्रममा रहेको छ । काठमाडौंतर्फको अधिग्रहणको काम सकिसकेको उनले जानकारी दिइन । धादिङतर्फ अधिग्रहणको प्रक्रिया सुरु गर्न बाँकी रहेको उनले बताइन् ।
सुरुङको कुल लम्बाइ २.७ किमिको रहेको छ । आयोजनाअन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।
सुरुङमार्गकै मुख र सतुङगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुने विभागले जनाएको छ ।
तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।
सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ ।
आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।