बैंकिङ सीएसआरको पुरानो बाटाे छाडेर नयाँ ‘ट्रयाक’ खन्दै कामना सेवा

राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्नो ‘सामाजिक उत्तरदायित्व कार्यक्रम’ (सीएसआर) अन्तर्गत ‘आत्मनिर्भर’ परियोजना अगाडि सारेको छ । बैंकले साना तथा मझौला उद्योगी-व्यवसायीहरुलाई व्यवसाय गर्नका लागि विभिन्न ढंगले सहयोग पुर्याउने उद्देश्यका साथ ‘आत्मनिर्भर’ परियोजना अन्तर्गत ‘इन्क्युबेशन’ सेन्टरको स्थापना गरेको हो ।

 

बैंकले यो कार्यक्रमका लागि ‘इन्क्युबेटर्सको माध्यमबाट साना तथा मझौला व्यवसायीको सहयोगको लागि’ भन्ने नारा समेत तय गरेको छ ।

 

यो कार्यक्रमको बारेमा थप चर्चा गर्नुभन्दा पहिला पङक्तिकारले कुनै अर्को सन्दर्भमा लखेका केही पंक्तिहरु यहाँ पनि सान्दर्भिक हुनसक्छ ।

 

‘जगजित सिंहले संगीत भरेको र गाएको एउटा कालजयी गीत छ, ‘होठो से छुलो तुम मेरा गीत अमर करदो ।’ अर्थात, मैले लेखेको वा संगीत भरेको गीतमा तिमी आफ्नो आवाज देऊ र अमर बनाइदेऊ !

 

नेपालको सार्वजनिक डबली भने त्यसको ठ्याक्कै उल्टो छ । जुन शब्द त्यहाँ चल्न थाल्छन् त्यसले आफ्नो वजन र गरिमा गुमाउँछ, पंगु हुन्छ र अन्ततः प्रयोग गर्नै दिगमिग लाग्ने हुन्छ ।’

 

राष्ट्र बैंकले बैंकहरुलाई नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले त्यसका लागि पैसा छुट्याउने पनि गरेका छन् । तर, उदेक लाग्दो कुरा के छ भने सामाजिक उत्तरदायित्वलाई ‘मार्केटिङ’ विभागको अन्तर्गत राख्ने गरिएको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुले पनि सीएसआर भन्ने शब्दलाई त्यसैगरी पङ्गु बनाइसकेका थिए, आफ्ना क्रियाकलापहरु मार्फत । यो शब्दले विस्तारै आफ्नो गरिमा र वजन गुमाउँदै जान थालेको थियो । र, बैंकका अध्यक्ष, कार्यकारी प्रमुख वा अन्य पहुँचवालाहरुको सामाजिक एवं व्यक्तिगत सम्बन्धहरु व्यवस्थापन गर्नका लागि प्रयोग गरिने अतिरिक्त कोष जस्तै भइसकेको थियो, सीएसआर कोष अन्तर्गतको पैसा ।

 

राष्ट्र बैंकले बैंकहरुलाई नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले त्यसका लागि पैसा छुट्याउने पनि गरेका छन् । तर, उदेक लाग्दो कुरा के छ भने सामाजिक उत्तरदायित्वलाई ‘मार्केटिङ’ विभागको अन्तर्गत राख्ने गरिएको छ ।

 

र, बैंकका मार्केटिङ विभागका कर्मचारीहरुले बृद्ध आश्रमका बृद्ध बृद्धाहरुलाई हलुवा पुरी खुवाएर, कुनै अस्पताललाई एउटा पलङ दान दिएर वा कुनै सामुदायिक विद्यालयलाई कम्प्युटर दिएर र त्यसको फोटो खिचेर मिडियामा प्रचार गरेर सामाजिक उत्तरदायित्वको मर्म माथि प्रहार गर्ने गरेका छन् । शब्दकै हूर्मत लिने गरेका छन् ।

 

कोरोना महामारी अघिसम्म बैंकहरुको आम्दानी राम्रै थियो, जसको १ प्रतिशत रकमले प्रभावकारी ढंगले परियोजनाहरु सञ्चालन गर्न नसकिने थिएन । प्राय: सबै वाणिज्य बैंकहरु २ अर्ब भन्दा बढी कमाउन थालिसकेका थिए भने विकास बैंकहरुको पनि राम्रै बढिरहेको थियो ।

 

त्यसको १ प्रतिशत पैसा खर्च गर्नका लागि ‘सामाजिक उत्तरदायित्व विभाग’ खडा गरेर २–४ जना कर्मचारी राखेर आफूले चाहेको क्षेत्रमा योजनाबद्ध ढंगले प्रभावकारी काम गर्न नसकिने होइन । वित्तीय साक्षरताको क्षेत्रमा, कुनै पीछडिएका जाती वा वर्गलाई उद्यमशील बनाउने कर्ममा २–४ वर्षको योजना बनाएर काम गर्न नसकिने होइन । तर, यति गर्ने सोच र दृष्टिकोण पनि बैंकहरुमा अहिलेसम्म देखिएको थिएन ।

 

तर, आकारमा वाणिज्य बैंकहरु भन्दा सानै भए पनि कामना सेवा विकास बैंकले ‘आत्मनिर्भर’ परियोजना शुरु गरेर सामाजिक उत्तरदायित्वको क्षेत्रमा केही ताजा हावा प्रवाह गर्न सफल भएको छ ।

 

सीआरएसको १ प्रतिशत पैसा खर्च गर्नका लागि ‘सामाजिक उत्तरदायित्व विभाग’ खडा गरेर पीछडिएका जाती वा वर्गलाई उद्यमशील बनाउने कर्ममा २–४ वर्षको योजना बनाएर काम गर्न नसकिने होइन । तर, यति गर्ने सोच र दृष्टिकोण पनि बैंकहरुमा अहिलेसम्म देखिएको छैन ।

 

यो परियोजना अन्तर्गत बैंकले साना तथा मझौला व्यवसाय गर्न चाहने मानिसहरुलाई विविध ढंगले सघाउने योजना बनाएको छ । त्यसका लागि बैंकले अन्य सरोकारवालाहरुसँग पनि सहकार्य गर्ने योजना प्रमुख सुरेश उप्रेतीले बताए ।

 

‘हामीले यो महामारीको बीचमा पनि हतार हतार यो परियोजना शुरु गरेका छौं । यो महामारीले धेरै मानिसहरु बेरोजगार भएका छन् । यसका अलावा वैदेशिक रोजगारीमा गएका मानिसहरु पनि फर्केर व्यवसायमा नै संलग्न हुने संभावना छ । त्यसैले यस्ता नव–व्यवसायीहरुलाइ सहयोग गरेर मुलुकको अर्थतन्त्रमा पनि थोरै सहयोग पुर्याउन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो,’ उप्रेतीले चाणक्य पोष्टसँग भने ।

 

बैंकले यो परियोजना अन्तर्गत विशेषगरी वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ । व्यवसाय गर्नका लागि आवश्यक पूँजीको योजना बनाउने, कम्पनी रजिष्टार तथा अन्य निकायमा दर्ताका लागि सहयोग गर्ने, कर्जाको आवश्यक भए ऋण लिनका लागि कागज पत्र मिलाउन, पैसाको व्यवस्थापन गर्न लगायत कामहरुमा बैंकले सघाउने र व्यवसाय विशेष सहयोगका लागि भने अन्य संघ संस्थाहरु सँग समन्वय गरिने उप्रेतीले जानकारी दिए ।

 

कोरोनाको कहरले गर्दा विदेशवाट फर्कने युवाहरुलाई स्वरोजगार बनाउन उनीहरुले सिकेका ज्ञान र सीपका आधारमा उनीहरुकै गाउँ देहातमा उपर्युक्त व्यावसाय छनौट कसरी गर्ने र व्यवसाय स्थापना गरी सही तरिकाले संचालन गर्नका लागि आवश्यक सहयोगको समायोजन गर्नु पनि यस कार्यक्रमका उद्देश्य रहेकोे, उप्रेतीले बताए ।

 

राष्ट्र बैंकले बैंकहरुले सामाजिक उत्तरदायित्वको पैसा वित्तीय साक्षरताको क्षेत्रमा नै खर्च गरुन भन्ने आशय राखेको छ । तर, बैंकहरुले निश्चित योजना बनाएर भन्दा पनि आ–आफ्नै सम्बन्ध व्यवस्थापनका लागि काम गर्ने र मिडियामा प्रचार गर्ने गर्दै आएका थिए ।

 

कामना सेवा विकास बैंकले भने राष्ट्र बैंकको आशय र समाजमा व्यवसायीहरु उत्पादन गर्नैपर्ने अहिलेको आवश्यकता बोध गर्दै यो कार्यक्रम अघि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत बताउँछन् ।

 

बैंकको हाल देशभर १२४ वटा शाखा सञ्जाल रहेको छ । बैंकले यीनै शाखा सञ्जाल मार्फत यो योजना अन्तर्गतका सेवाहरु दिने योजना बनाएको छ । यसका लागि क्षेत्रीय प्रमुखहरुलाई यो सेवाको बारेमा प्रशिक्षण दिने र केन्द्रले कार्यक्रमको खाका बनाउने योजना रहेको प्रमुख कार्यकारी बस्नेत बताउँछन् ।

 

बैंकका अनुसार यो कार्यक्रम विशुद्ध सीएसआर रहेको र नव–उद्यमीहरुले बैंकको यो परियोजना मार्फत वित्तीय साक्षरता सम्बन्धी विभिन्न सहयोग लिएपछि आफ्नो खुशी अुनुसार आफूले चाहेको वित्तीय संस्थाबाट ऋण लिन पाउँछ । ‘अथवा कसैलाई ऋणको आवश्यकता छैन र आफ्नै पैसा लगानी गर्ने योजना छ भने पनि भइहाल्यो’, योजना प्रमुख उप्रेती भन्छन् ।

 

हाल आफूले यो परियोजना अन्तर्गत दिने सेवाहरु बनाइरहेको बैंकले अबका दिनमा अन्य सरोकारवाला संस्थाहरुसँग पनि सहकार्य गर्नका लागि कामहरु अगाडि बढाइसकेको छ ।

 

‘व्यवसाय सञ्चालनका लागि हामीले दिने सहयोग बाहेकका अन्य व्यवसाय केन्द्रित प्रविधिक सहयोगका लागि हामी विभिन्न गैरसरकारी संस्थाहरु, चेम्बर, उद्योग वाणिज्य महासंघलगायत संस्थाहरुसँग पनि सहकार्य गर्नका लागि काम अगाडि बढाइरहेका छौं,’ उप्रेतीले भने ।

 

नयाँ ढंगले काम गर्न अथवा नयाँ सोच वा विचार प्रतिपादन गर्नका लागि आकारले खासै फरक पार्दैन भनेर कामना सेवा विकास बैंकले पुष्टि गरेको छ । वाणिज्य बैंकहरु भन्दा आकारमा सानै भएपनि नयाँ ढंगले कार्यक्रम शुरु गरेर र गरिमा गुमाइसकेको सीएसआर शब्दमा केही ओज थपेर समग्र वित्तीय क्षेत्रको नेतृत्व कामना सेवा विकास बैंकले अहिले गरेको देखिन्छ । यो नेतृत्वलाइ ‘बरकरार’ राख्ने एउटै उपाए भनेको चाहिँ परियोजनाको प्रभावकारी सञ्चालन, नियमन, मूल्याङ्कन र सुधार नै हो ।

सेयर बजार लगातार उकालो यात्रामा, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता Read Previous

सेयर बजार लगातार उकालो यात्रामा, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

क्लासिक टेकको इन्टरनेट रिचार्जमा बोनस अफर, १ वर्षको रिचार्ज गर्दा २ महिना बोनस आउने Read Next

क्लासिक टेकको इन्टरनेट रिचार्जमा बोनस अफर, १ वर्षको रिचार्ज गर्दा २ महिना बोनस आउने