नेपालमा पहिलो पटक होटल आइशोलेशन सञ्चालनमा, दैनिक ११०० रुपैयाँमा खान बस्न पाइने

काठमाडौं । नेपालमा पहिलो पटक निजीस्तरबाट विराटनगरस्थित होटल एशियाटिकमा आइशोलेसन सञ्चालनमा ल्याइएको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता कार्यले बन्द रहेका होटललाई यसबाट केही हदसम्म मद्दत पुग्ने देखिन्छ ।

 

प्रदेश सरकारको पहिलेदेखि नै स्थानीय होटललाई आइशोलेशन सञ्चालन गर्ने सोचलाई होटल एशियाटिकले पूरा गरेको छ । सो होटलमा हाल ६५ शय्या तयार गरिएको छ । अत्यन्त सुविधासम्पन्न सो होटल शनिबारदेखि आइशोलेशनका रुपमा चलाइएको होटल सञ्चालक पुण्य भट्टराईले जानकारी दिए।

 

वातावरणअनुकूलित सो आइसोलेशनमा नेपाल विद्युत् प्राधिकरण दमकका छ, राष्ट्रिय वाणिज्य बैंक विराटनगरका एक र नेपाल राष्ट्र बैंक विराटनगरका एक जना बसिरहेका छन् । अहिले सुनसरीको इटहरीबाट दुई जना आउन लागेको जनाइएको छ ।

 

तातो र चिसो दुवै पानी पाइने सो आइसोलेशनको एक कोठाको दैनिक १ हजार १०० रुपैयाँ शुल्क कायम गरिएको छ । मरीचयुक्त कालो चिया निःशुल्क उपलब्ध हुने छ । खानामा बिहानको खाजा, दिउँसोको खाना, रातिको खाना तथा बेसार र दूधसहितको सुप दिइने छ । दुई किसिमको होटलको मेनुमा रु एक हजारदेखि १ हजार ५०० शुल्क कायम गरिएको सञ्चालक भट्टराईले जानकारी दिए ।

 

उनका अनुसार होटलमा सङ्क्रमण फैलिन नदिन सधैँ सेनिटाइज गरिन्छ । होटेलले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको र जोखिम नियन्त्रण एवं निर्मूल गर्न सबै किसिमको प्रविधि प्रयोग गरेको छ ।

 

उनले होटलमा बस्दा कुनै बिरामीको अवस्था गम्भीर भएमा आइसियु, भेन्टिलेटरसहितको अस्पतालमा पुर्याउन विराटनगर महानगरपालिकासँगको सहकार्यमा एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी पनि दिए। महानगर प्रमुख पराजुलीको पहलमा शुरु भएको सो आइशोलेशन विराटनगर विमानस्थल जाने बाटोमा पर्छ ।

 

महानगरपलिकाले यसअघि आफ्नो खर्चमा मरवाडी सेवा सदनमा ४० र बैजनाथपुरमा २० शय्याको आइशोलेशन तयार गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए।

कोरोनाका बाबजूद वैदेशिक लगानी प्रस्ताव ६३ प्रतिशत बढ्यो, लगानीकर्ताको रोजाइमा पर्यटन क्षेत्र Read Previous

कोरोनाका बाबजूद वैदेशिक लगानी प्रस्ताव ६३ प्रतिशत बढ्यो, लगानीकर्ताको रोजाइमा पर्यटन क्षेत्र

काठमाडौंमा १६६ सहित थप ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज, ३ जनाको मृत्यु Read Next

काठमाडौंमा १६६ सहित थप ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज, ३ जनाको मृत्यु