काठमाडौं । कोरोनाका कारण समग्र अर्थतन्त्र नै प्रभावित भइरहेका बेला वैदेशिक लगानी प्रतिबद्धता आउने क्रम भने जारी रहेको छ ।
स्थापित उद्योगहरु नै राम्रोसँग सञ्चालन हुन नसकिरहेको बेला पनि नयाँ उद्योग दर्ता हुने क्रम भने रोकिएको छैन । चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा सवा ६ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार साउनमा वैदेशिक लगानीका ३३ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ६ अर्ब २१ करोड लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
कोरोनाले विश्व पर्यटन क्षेत्र नै ठप्प रहेको र तत्कालै सञ्चालन हुने सम्भावना नरहे पनि लगानीकर्ताको रोजाइ भने यही क्षेत्र बनेको छ । साउनमा दर्ता भएका विदेशी लगानीका ३३ नयाँ उद्योगमध्ये १९ वटा पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका छन् ।
यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधि २४ नयाँ उद्योगका दर्ता भएका थिए । ती उद्योगमा ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको थियो ।
कोरोनाले विश्व पर्यटन क्षेत्र नै ठप्प रहेको र तत्कालै सञ्चालन हुने सम्भावना नरहे पनि लगानीकर्ताको रोजाइ भने यही क्षेत्र बनेको छ । साउनमा दर्ता भएका विदेशी लगानीका ३३ नयाँ उद्योगमध्ये १९ वटा पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका छन् ।ती उद्योग सञ्चालनका लागि ३ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । उक्त उद्योगहरु सञ्चालनमा आएपछि ९६४ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा पर्यटन क्षेत्र तर्फ १४ वटा नयाँ उद्योगका लागि २ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । सो उद्योग सञ्चालन पछि ६२४ जनाले रोजगार पाउने अनुमान गरिएको थियो ।
त्यस्तै, चालू आवमा सेवामूलक क्षेत्रमा २ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक प्रतिबद्धता आएको छ । उक्त लगानीमा सञ्चालनमा आउने गरी १४ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा सेवा मूलक क्षेत्रमा ७ नयाँ उद्योग सञ्चालनका लागि १ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।
चालू आवको साउन महिनामा उत्पादनमूलक क्षेत्रमा एउटा मात्र उद्योग सञ्चालनका लागि वैदेशिक लगानी प्रस्ताव आएको छ । सो उद्योग सञ्चालनका लागि ५ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको हो । गत आवको सोही आवमा उत्पादनमूलक तर्फ २ नयाँ उद्योग सञ्चालनका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
गत आवको साउनमा कृषितर्फ ५ करोडको वैदेशिक लगानीको एउटा उद्योग दर्ता भएको थियो भने चालू आवमा यस क्षेत्रमा कुनै लगानी प्रस्ताव आएको छैन ।
कोरोनाका बीच वेदेशी लगानीकर्ता आकर्षित हुनु अर्थतन्त्रका लागि महत्वपूर्ण
विभागका सूचना अधिकारी विनोद खड्का कोरोनाका बाबजूद वैदेशिक लगानी प्रस्ताव आउनु देशका लागि सकारात्मक भएको बताउँछन् । विश्व अर्थतन्त्र नै शिथिल भएको बेला नेपाल विदेशी लगानीकर्ताको रोजाइमा पर्नु अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको उनले बताए ।
नेपालमा पर्यटन आगमनलाई लक्षित गरेर कार्यक्रमहरु आइरहेकाले पर्यटनतर्फ वैदेशिक लगानी बढ्न थालेको बताउँछन् ।उनले गत आवको तुलनामा ६३ प्रतिशतले वैदेशिक लगानी प्रतिबद्धता वृद्धि भएको बताए । नेपालमा आइटी उद्योग समेत खुल्ने क्रम रहेकाले यसमा वैदेशिक लगानीको चासो बढ्दै गएको उनले बताए ।
‘नेपालमा निषेधाज्ञा अवस्था रहेकाले अहिले धेरै वैदेशिक लगानी प्रतिबद्धता आउन सकेको छैन, तर एक महिनामै लगानी ६ अर्ब बढीको प्रस्ताव आएको छ, त्यो हाम्रो लागि राम्रो हो,’ खड्काले भने ।
सरकारले उद्योग लगानी सुरक्षालाई बढाउन सके वैदेशिक लगानीलाई वैदेशिक लगानी अझै बढाउन सकिने उनले बताए ।
विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा पनि नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै जानु राम्रो भएको उद्योगीहरुको भनाइ छ ।