कालोबजारी गरी उपभोक्ता ठग्दै व्यापारी, प्रतिकिलो ७१ रुपैयाँमा पाइने चिनी ९३ मा बेच्दै

काठमाडौं । पछिल्लो समय बजारमा चिनीको कालोबजारी बढेको छ । माग अनुसार आपूर्ति हुन नसकेपछि व्यापारीहरुले मनलाग्दी भाउ बढाएर बेच्न थालेका छन् ।

 

अहिले साल्ट ट्रेडिङमा ७३ रुपैयाँ प्रतिकेजी पाइने चिनी बजारमा ८५ रुपैयाँदेखि ९३ रुपैयाँसम्ममा विक्री गरेको पाइएको छ । पछिल्लो समय साल्ट ट्रेडिङ, खाद्य व्यापार कम्पनीमा मौज्दात सकिँदै गएको, लकडाउनका कारण चिनीको आपूर्ति नै हुन छाडेको जस्ता बाहना बनाउँदै व्यापारीले उपभोक्तालाई ठग्न थालेका हुन् ।

 

साल्ट साल्ट ट्रेडिङमा प्रतिकिलो ७३ रुपैयाँमा पाइने चिनी होलसेल अथवा खुद्रा व्यवसायीले ७७ रुपैयाँ प्रतिकेजीसम्म विक्री गर्नु ठिकै हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी रवीन्द्र आचार्य बताउँछन् ।

 

हाल साल्ट ट्रेडिङले डिलरलाई प्रतिकिलो ७० रुपैयाँदेखि ७१ रुपैयाँसम्ममा चिनी उपलब्ध गराउँदै आएको छ भने आफैले प्रतिकिलो ७३ रुपैयाँमा विक्री गरिरहेको छ । तर, बजारमा दराज, ठूलोडटकम लगायत अनलाइन सहित व्यापारीले प्रतिकिलो ९३ रुपैयाँसम्म विक्री गरेको पाइएको छ ।

 

तर, हाल बजारमा हेर्ने हो भने चिनीको मूल्य ८५ रुपैयाँ देखि ९३ रुपैयाँ प्रतिकेजीसम्ममा विक्री भइरहेको छ । विभागले कडाईका साथ बजार अनुगमन गर्न नसक्दा व्यापारीहरुले उपभोक्तालाई मनलाग्दी भाउमा चिनी बेचिरहेका छन् । यसले गर्दा कोरोनाबाट सृजित कठिन परिस्थितिमा पनि उपभोक्ताको ढाड सेकिएको छ ।

 

विभागका सूचना अधिकारी आचार्य बजार अनुगमन कडाई गरिएकाले चिनीमा भारी मूल्य लिइएको अवस्था नरहेको बताउँछन् । तर, बजारको वास्तविकता भने अर्कै छ ।

 

गौरिघाट निवासी रिता श्रेष्ठ पछिल्लो समय चिनी प्रतिकेजी ९० रुपैयाँ हालेर किन्नु परेको बताउँछिन् । उनले लकडाउन अघिसम्म ७५ रुपैयाँ प्रतिकेजी किनिरहेको चिनी अहिले धेरै मँहगोमा किन्नु परेको बताइन । फेरि लकडाउन हुने भएपछि चिनीको मूल्य बढेको हुन सक्ने उनी बताउँछिन् ।

 

‘घरमा चिनी चाहि हाल्यो, झन अब तिजमा खिर बनाउन धेरै चाहिन्छ, त्यसैले किन्नै पर्यो,‘ श्रेष्ठले भनिन् ‘चिनीको मूल्य कति हो, कति तिर्नु पर्ने हो थाहा छैन, पसलेले जति भन्यो त्यो तिरेर ल्याउने हो ।’

 

साल्ट ट्रेडिङले बेच्ने मूल्य भन्दा १७ रुपैयाँ बढीमा व्यवसायीहरुले चिनी विक्री गरिरहेका छन् । अझ अनलाइन व्यापारीको कुरा गर्ने हो भने उनीहरुले ९३ रुपैयाँ प्रतिकेजीसम्ममा चिनी विक्री गरिरहेका छन् । दराज, बिगमार्ट अनलाइन सपिङले चिनी प्रतिकेजी ८०, ठूलो डट कम अनलाइनले ८५ रुपैयाँमा प्रतिकेजीमा चिनी विक्री गरिरहेका छन् ।

 

चिनीको मौज्दात सकिँदा मूल्य वृद्धि

 

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसनमा चिनीको मौज्दात घटेकाले चिनीको मूल्य बढेको बताउँछन् ।

 

हाल साल्ट ट्रेडिङमा १ हजार मेट्रिकटनभन्दा कम चिनी भएको भन्दै सरकारले आयातको प्रक्रिया शुरू गरेको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विदेशबाट चिनीको आयात गर्ने अनुमति दिएको छ ।

 

सरकारले विदेशबाट ३० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको हो । त्यस मध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले २० हजार केजी चिनी आयात गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी आयात गर्ने छ ।

 

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले टेन्डर आह्वान भएको एकदेखि डेढ महीनाभित्र चिनी नेपाल आइसक्ने बताए ।  साल्ट ट्रेडिङ कर्पोरेसनले टेन्डर प्रक्रिया अगाडि बढाइसकेको छ भने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ ।

 

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले ल्याउने १० हजार मेट्रिक टन चिनी तिहारसम्मा आइपुग्ने जनाइएको छ ।
नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसरी दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ ।

 

चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्छन् ।नेपालमा चाडबाडको समयमा चिनीको खपत बढ्ने गरेको छ । खपत बढेसँगै व्यवसायीहरुले चिनीको मूल्य बढाउने गरेका छन् ।

 

व्यापारीहरूले चिनी प्रतिकिलो ८५ देखि ९० मा बिक्री गरिरहँदा साल्ट ट्रेडिङ कर्पोरेसनले भने प्रतिकिलो ७३ रुपैयाँमै बेचिरहेको छ । कर्पाेरेसनका आउटलेट र घुम्ती सेवाबाट प्रतिकिलो ७३ रुपैयाँमा विक्री भइरहेको सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।

 

डिलरलाई प्रतिकिलो ७० रुपैयाँदेखि ७१ रुपैयाँसम्ममा उपलब्ध गराइएको उनले बताए । तर कर्पोरेसनसँग पर्याप्त चिनी छैन ।दशैं र तिहारका बेला दुई–तीन महिनामा चिनी खपत बढेर ३० हजार टन पुग्छ । ‘यस हिसाबले तीन महिनालाई मात्रै चिनी ल्याउनुपर्ने देखिन्छ,’ राजभण्डारीले भने । साल्टले  ५० प्रतिशत भन्सार छुटमा चिनी ल्याउँछ ।

 

विभाग भन्छ् -अनुगमन गर्दा चिनीको मूल्यमा मनेमानी देखिएन्

 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी आचार्यले पछिल्लो समय चिनीको मूल्यमा धेरै मनोमानी नदेखिएको बताए ।

 

‘हामीले विभिन्न स्थानमा कर्मचारी खटाएर अनुगमन गरिरहेका छौँ, त्यती धेरै मूल्य फरक पाइएको छैन, मूल्य सूचीहरु नराखी विक्री गर्नेलाई कारवाहीको दायरामा पनि ल्याएका छौँ, उनले चाणक्य पोष्टसँग भने ‘त्यस्तो धेरै मूल्यमा विक्री भएको पाइएमा उपभोक्ताले आफै ११३७ मा निःशुल्क फोन गरेर गुनासो गर्न सक्छन्, गुनासो आएको खण्डमा हामी तुरुन्तै सो स्थानमा पुगेर कारवाही गर्ने छौँ ।’

 

उनले उपभोक्ता आफै पनि सचेत हुनु पर्ने र सामान खरिद गरेपछि बिल लिनुपर्ने उनको भनाइ छ । बिल भएपछि महँगोमा सामान किनेको भए प्रमाण हुने र त्यसैका आधारका कारबाही गर्न सकिने उनले बताए ।

विदेशबाट आउने ७ दिन अनिवार्य होटल क्वारेन्टिमा बस्नु पर्ने, कुन होटमा बसेको कति Read Previous

विदेशबाट आउने ७ दिन अनिवार्य होटल क्वारेन्टिमा बस्नु पर्ने, कुन होटमा बसेको कति

२ दशकपछि कञ्चनपुरमा औद्योगिक क्षेत्रको काम अघि बढ्दै Read Next

२ दशकपछि कञ्चनपुरमा औद्योगिक क्षेत्रको काम अघि बढ्दै