
काठमाडौं । पछिल्लो समय कालोबजारी बढेपछि बजार अनुगमनलाई तीव्रता दिइइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको साउनमा अनुगमनका क्रममा १४ वटा फामको कारोबार रोक्का गरेको छ ।
सो मध्ये ११ वटा पानी उद्योग सिल गर्नुका साथै कारोबार रोक्का गरिएको विभागले जनाएको छ । साथै ३ वटा खाद्य तथा किराना पसल पनि सिल गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।
काठमाडौं बुढानिलकण्ठ ७ स्थित सन्देश मिनिरल वाटरलाई ५० हजार जरिवाना गर्नुका साथै शिलबन्दी गरिएको छ । साउन ६ गते सिलबन्दी गरिएको सो पानी उद्योग २५ गते जरिवाना तिरेपछि पुनरुः सञ्चालनमा आएको छ ।
भक्तपुर सूर्यविनायक ३ स्थित इन्दो नेपाल फूड एण्ड वेभरेज इण्डष्ट्रिज पानी उद्योग पनि सिल गरिएको छ । सो उद्योग शिलबन्दी गरी उद्योगसँग सम्बन्धित सम्पूर्ण कागजात ३ दिनभित्र ल्याउन माग गरिएको छ ।
भक्तपुर सूर्यविनायक २ स्थित निर प्योर सोलुसनलाई सिल गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो । ५० हजार जरिवाना पछि फेरि सिल खोलिएको विभागले जनाएको छ ।
भक्तपुर चाङगुनारायणको न्यू पवित्र मिनिरल वाटर पनि सिल गरिएको थियो । सो पानी उद्योगलाई १ लाख जरिवाना पछि फेरी खुल्ला गरिएको छ । बुढानिल कण्ठ मिनिरल वाटरलाई पनि अनुगमनका क्रममा सिल गरिएको थियो । पछि पुनः सिल खुल्ला गरिएको विभागले जनाएको छ ।
चन्द्रागिरी वेभरेज एण्ड इनभेष्टमेन्ट पानी उद्योगलाई कारोबार रोक्का गर्नुका साथै सिल गरिएको थियो । त्यसपछि उद्योग सञ्चालकले अनुगमनबाट ठहर भए बमोजिम कारवाही भोग्न निर्णयानुसार शिलबन्दी खुल्ला गरिएको थियो । सो पानी उद्योगलाई साइबोर्ड राख्न, व्यवसायसँग सम्बन्धित प्रमाणपत्र देख्ने गरी राख्न र सरकारको मापदण्ड अनुरुप बातलको लेबलिङ गर्न निर्देशन दिइएको थियो ।
यस्तै विभागले अनुगमनका क्रममा आक्वा संजिव र बी एण्ड एस खानेपानी उद्योगलाई समेत सिल गरेको थियो । पछि ५०/५० हजार रुपैयाँ जरिवाना पछि सिल खुल्ला गरिएको थियो ।
विभागले १० पानी उद्योगलाई ९ लाख रुपैयाँ जरिवाना गरेको छ । ३ पानी उद्योगलाई कागजात तथा स्पष्टीकरण माग गरिएको छ भने ७ पानी उद्योगलाई सुधारका लागि निर्देशन दिइएको विभागका सूचना अपधकरी आचार्यले बताए ।
उनले पछिल्लो समय मासु, खाने पानी, औषधि र खाद्य वस्तुमा उपभोक्ता ढगिनु नपरोस भनेर अनुगमनलाई तीव्र्रता दिइरहेको बताए ।‘हामीले विशेष गरी खानेपानी, खाद्य, मासु, औषघिलाई विशेष ध्यान दिएका छौँ, उपभोक्ताबाट उजुरी आएको अवस्थामा सबै तिर अनुगमन गर्ने छौँ,’ आचार्यले चाणक्य पोष्टसँग भने ।
साउन पहिलो महिनामा १८६ फाममा अनुगमन भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले गरेको अनुगमनका क्रममा १४ फामको अवस्था सामान्य रहेको छ । ७६ फामलाई तत्काल सुधारका लागि निर्देशन दिइएको छ ।यस्तै खान अयोग्य वा म्याद सकिएकोले तत्काल १५ हजार ३ सय ५७ रुपैयाँ बराबरको खाद्य तथा औषधि नष्ट गरिएको छ ।
अनुगमन गरिएका मध्ये २० वटा फार्मलाई आवश्यक कागजात तथा स्पष्टस्करण माग गरिएको छ भने ६४ फामलाई जरिवाना गरिएको छ । ६४ फार्मलाई ३६ लाख ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । ९ वटा वस्तु परीक्षणका लागि ल्याइएको छ ।