काठमाडौं। कार्यालय आउँदै गरेका कर्मचारीहरुलाई प्रहरीले बीच बाटोमै रोकेपछि नेपाल बैंकर्स संघले आज उपत्यकामा बैंकका सबै शाखा बन्द गर्न निर्देशन दिएको छ ।
मंगलबार स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकरहरुबीच उपत्यकामा बैंकका सीमित शाखा खोलेर सेवा दिने सहमति भए पनि प्रहरीले सहमति विपरीत कर्मचारीलाई रोकेपछि बैंकर संघले सबै बैंकका सेवा बन्द गर्न भनेको हो ।
सरकारले बुधबार रातिदेखि उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । बैंक अत्यावश्य सेवा पर्ने भएकाले सीमित शाखाबाट भए पनि सेवा दिन तयार भएका थिए । तर, कार्यालय खोल्न आएका कर्मचारी लाई प्रहरीले अनावश्यक रुपमा रोकेको बन्दै संघले सबै शाखा बन्द गर्न निर्देशन दिएको हो ।
प्रहरीले सम्बन्धित बैंकको परिचय पत्र देखाउँदा समेत प्रहरीले बाटोमै रोकेको छ । यसरी बीच बाटोमै रोकिनेका बैंकका कर्मचारीदेखि प्रमुख कार्याकारी अधिकृत (सीईओ) समेत रहेका छन् । प्रहरीले उनीहरुलाई घर पनि जान दिएको छैन भने अफिस पनि जान दिएको छैन।
बैंकर संघगले मंगलबार प्रहरी र राष्ट्र बैंकसँग उपत्यकामा एउटा बैंकका अधिकतम ८ वटासम्म शाखा खोलेर सेवा दिने सहमति गरेको थियो । बैंकहरुले काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखाबाट सेवा दिने भनेका थिए । सोही अनुसार बैंकहरुले खुल्ने शाखा तोकी न्यूनतम कर्मचारीबाट सेवा दिने गरी कर्मचारी बोलाएका थिए ।
निषेधाज्ञामा सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।