कोरोनाका बाबजूद एनआइसी एशिया र एनएमबी बैंकको नाफा बढ्यो, लाभांश क्षमता कति

काठमाडौं । कोरोनाको अधिकांश बैंकहरुको नाफा घटेको बेला एनआइसी एशिया र एनएमबी बैंकले भने नाफा बढेको विवरण सार्वजनिक गरेको छन् ।

 

बैंकहरुले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिीय विवरण अनुसार दुवै बैंकको नाफामा सामान्य सुधार भएको छ ।

 

एनआइसी एशियाको नाफा १० करोड बढ्यो

 

एनआइसी एशिया बैंकले गत आवमा अघिल्लो आवको तुलनामा खुद नाफा करिब १० करोडले बढाएको छ । बैंकले गत आवको असार मसान्तसम्ममा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३.२५ प्रतिशत बढी हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफा बढेपनि बैंकको वितरण योग्य मुनाफा भने घटेको छ। यस अवधिमा बैंकले १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। यसबाट बैंकले सेयरधनीलाई न्यूनतम १३ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

 

हाल ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ।असार मसान्तसम्म बैंकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी २.१० रुपैयाँ घटेर ३२.१२ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७७.३६ रुपैयाँ , मूल्य आम्दानी अनुपात १७.२२ गुणा, निष्क्रिय कर्जा ०.७५ प्रतिशत, आधार दर ७.७० प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ।

 

एनएमबीको वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

 

कोरोनाका बाबजूद एनएमबी बैंकले आफ्ना अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ ।बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५९ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको नाफा सामान्य मात्र बढेपनि वितरण योग्य नाफा भने ११.९३ प्रतिशत बढेको छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड छ। यस आधारमा बैंकले सेयरधनीलाई करिब १० प्रतिशत लाभांश वितरण गर्न सकिने देखिन्छ ।

बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड रुपैयाँ बढी हो।

 

हाल १३ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ । यस्तै सेयरधनी कोषमा ९६ करोड ४० लाख रुपैयाँ छ।

 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आवको अन्त्यसम्ममा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

 

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ७.१९ रुपैयाँले घटेर १६.२८ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.२७ गुणा, आधार दर ८.९५ प्रतिशत, सीसीडी रेसियो ७२.६८ प्रतिशत, खराब कर्जा २.६८ र स्प्रेडदर ४.०५ प्रतिशत छ।

कर्मचारीको पीसीआर परीक्षण शुल्क बैंकले नै तिर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको १४ बुँदे निर्देशन Read Previous

कर्मचारीको पीसीआर परीक्षण शुल्क बैंकले नै तिर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको १४ बुँदे निर्देशन

मर्जर पछि देशकै ठूलो बैंक बनेको ग्लोबलले कमायो साढे ३ अर्ब, यस्तो छ अन्य वित्तीय सूचक Read Next

मर्जर पछि देशकै ठूलो बैंक बनेको ग्लोबलले कमायो साढे ३ अर्ब, यस्तो छ अन्य वित्तीय सूचक