काठमाडौं ।पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै बीमा गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । जोखिम बढेसँगै कोरोना लागि हाले पनि बीमा बापत पैसा पाइने भएपछि बीमा गराउने पनि बढेका हुन् ।
कोरोनाको जोखिमलाई मध्ये नजर गर्दै बीमा समितिले गत बैशाख ७ देखि जारी गरेको कोरोना बीमा हालसम्म करिब साढे ६ लाख जनाले गरिसकेका छन् ।
समितिका अनुसार सोमबारसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ४७ हजार ६१० जनाको कोरोना बीमा गरेका छन् ।
बीमा कम्पनीहरुले कुल ६६ हजार ८५ वटा पोलिसी जारी गरी ३६ करोड ४६ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
हाल २० निर्जीवन बीमा कम्पनीमार्फत उक्त बीमालेख विक्री भइररहेको छ । पछिल्लो समय सरकारले कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था कार्यान्वयनमा ल्याएपछि यस्तो बीमा गर्नेको संख्या बढेको समितिको भनाइ छ ।

बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १३ हजार ८२१ पोलिसी मार्फत १ लाख २६ हजार ३६ जनाको बीमा गरेको छ । त्यसबाट ६ करोड ९३ लाख ९८ हजार ४०० रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
त्यस्तै, नेशनल इन्स्योरेन्सबाट सबैभन्दा कम ९ हजार २६१ जनाको बीमा गरी ५१ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क संकलनगरेको छ ।
कोरोना बीमा अन्तर्गत १ लाख र ५० हजार गरी दुई प्रकारको बीमांक तोकिएको छ । १ लाख रुपैयाँको बीमाका लागि व्यक्तिले १ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ तिरे पुग्छ ।
यस्तै, ५० हजार रुपैयाँ बीमांकको रहेको बीमा गर्दा प्रतिव्यक्ति ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति ३०० रुपैयाँमा बीमा गर्न सकिन्छ ।यी दुइटै पोलिसीमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ भने सरकारी कर्मचारीको निःशुल्क बीमा हुन्छ ।
बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरुले दावी भुक्तानी गर्ने छन् ।