व्यापारीसँगको मिलेमतोमा पानीको मूल्य बढाइएको भन्दै खारेज गर्न माग

काठमाडौं । बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् ।

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको बताइएको छ ।

 

विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य ५० रुपैयाँ र बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे छ ।

 

यसअघि एक जार पानीको २० रुपैयाँ, ढुवानी १० गरी ३० रुपैयाँ पर्ने भए पनि उपभोक्तालाई ४० रुपैयाँमा बेच्दै आएकोमा अहिले खुद्रा मूल्य नै ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेका हुन् ।

 

विभागले व्यापारीको स्वार्थअनुसार मिलेमतोमा पानीको मूल्य बढाएको आरोप उपभोक्ताको छ । सरकारी निकायले नै मूल्य बढाएपछि ३५ देखि ४० रुपैयाँसम्ममा बिक्री गर्दै आएको एक जार पानी अब ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ ।

 

उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताए । पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उनको आरोप लगाए ।

 

पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा वकालत गर्दै आएको थियो । पानी व्यवसायीले आफैंले गाडी खरिद गरी ढुवानी संघ नै गठन गरी पानी र ढुवानीको फरक मूल्य निर्धारण गरी पानी बिक्री गर्दा पनि उपभोक्ताले प्रति जार ४० रुपैयाँ भन्दाबढी तिर्नु पर्दैनथ्यो तर अब उपभोक्ताले ५० तिर्नु पर्ने भएको छ ।

 

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले पानीको मूल्य वृद्धि हुँदा स्वभाविकरुपमा उपभोक्ता मारमा पर्ने बताए । उपभोक्ताबाट यसको विरोध आउनु स्वभाविक भएको जनाउँदै सरकारले पानीको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए ।

यूएईद्वारा भिसा सम्बन्धी नियम परिवर्तन, भिजिट भिसाको म्याद १ महिना थप Read Previous

यूएईद्वारा भिसा सम्बन्धी नियम परिवर्तन, भिजिट भिसाको म्याद १ महिना थप

सेयर बजारमा सामान्य गिरावट, १ अर्ब २७ करोडको कारोबार हुँदा ३ कम्पनीको मूल्यमा सर्किट Read Next

सेयर बजारमा सामान्य गिरावट, १ अर्ब २७ करोडको कारोबार हुँदा ३ कम्पनीको मूल्यमा सर्किट