काठमाडौं। अब बैंक वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई एकैपटक काममा लगाउन नपाउने भएका छन् ।
आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गर्दै सबै कर्मचारीलाई एकै पटक काममा नलगाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यकता अनुसार समूह विभाजन गरी कर्मचारीहरुलाई आलोपालो प्रणालीमा काममा लगाउने व्यववस्था मिलाउन निर्देशन दिएको हो।
‘सरकारले विभिन्न स्थानमा लागू गरेको बन्दाबन्दी कायमै रहेको र कतिपय ठाउँमा निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवगमनमा जोर बिजोर प्रणाली लगायत भएकाले ‘वर्क फ्रम होम’ व्यवस्था मिलाइ काम गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न भनेको छ।
साथै वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखाहरु त्यही अनुसार सूचना जारी गरि वैकल्पिक रुपमा आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन पनि भनेको छ।
राष्ट्र बैंकले सेवा सुचारु नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने छ।साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्न समेत भनेको छ ।
