काठमाडौं । यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, बागमती प्रदेश ललितपुर कार्यालयले आज एक सूचना जारीरी भोलि साउन २६ गतेबाट सवारी साधनको नामसारी लगायतका काम अर्को निर्णय नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।
भोलिबाट यातायात कार्यालय एकान्तकुनाबाट ग्राहकले वार्षिक कर तिर्ने, बिलबुक नवीकरण गर्ने र इम्बोस्ड नम्बर प्लेट जडानको लागि राजस्व दाखिला गर्ने सेवा पाउने छन् । यी बाहेक अन्य कुनै किसिमको सेवा नपाउने कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
‘हामीले जोखिम न्यूनीकरण गर्नै नसक्ने अवस्था आयो । हजारौं मानिसको लाइन लाग्ने अवस्था छ । यस्तो अवस्थामा कर्मचारीले काम गर्न नसक्ने भएकाले राजस्व संकलन बाहेकका सेवा रोक्नु परेको हो’, कार्यालय प्रमुख यादव आचार्याले भने ।
उनका अनुसार कोभिडको डर बढ्दै जान थालेकोले काम रोक्नु पर्दा सेवाग्राहीलाई अफ्ठेरो परेको भएपनि अहिलेको अवस्थामा सेवा संचालन गर्न कठिन भएकाले केही दिनलाई सेवा रोकिएको हो ।
‘प्रदेश सरकारले बिलबुक नवीकरण, वार्षिक कर र इम्बोस्ड नम्बर प्लेटको राजस्व संकलन गर्ने काम जोर–बिजोर अनुसार गर्न भनेकाले हामीले त्यही अनुसार सूचना निकालेका हौं’ आचार्यले भने ।
यसरी यातायात व्यवस्था कार्यालयले नामसारी लगायतका सेवा बन्द गर्ने सूचना प्रकाशित गरेसँगै अटोमोबाइल व्यवसायीहरु भने निराश बनेका छन् । बल्ल केही दिनदेखि गाडीका शोरुममा मानिसको आवत जावत बढेको थियो । अब यसरी कर लिने बाहेकका सबै सेवा बन्द भएपछि ग्राहक नै नआउने हुन् कि भन्ने चिन्ता व्यवसायीहरुमा रहेको पाइन्छ ।
तर, कार्यालय प्रमुख आचार्य कर उठाउने काउन्टर संचालन गर्नु पर्ने काम पनि सेवा नै भएको र करका विषयमा सरकारले थप निर्णय नगरेकाले बाध्य भएर यी सेवा खुल्ला राख्नु परेको तर्क गर्छन् ।