शासक उत्तरदायी नबन्दा राज्य कसरी असफल हुन्छ भन्ने लेबनानबाट सिकौँ, नेपालमा पनि यस्तै खतरा

वर्षेनी सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरिरहने तर लाभांश भने कहिल्यै नबाँढ्ने र कम्पनीको बोर्डमा बसेकाहरुले आफ्नो व्यक्तिगत स्वार्थ भने कम्पनीबाट परा गरिरहने कम्पनी कालान्तरमा टाट पल्टेर ‘लिक्वीडेशन’मा जाने गर्दछन् ।

 

तर, यस्तै दोहनकारी कम्पनी जस्तै देखिने राज्यहरु भने ‘लिक्वीडेशन’ जाँदैनन । राज्यलाइ ‘लिक्वीडेशन’मा लैजाने प्रक्रिया अहिलेसम्म शुरु नभएका कारण होला सायद ।

 

यस्तै ‘लिक्वीडेशन’मा जानुपर्ने राज्यहरुलाई चाँही असफल राज्यको संज्ञा दिने चलन छ राजनीतिशास्त्रमा ।

 

जनतालाई निरन्तर विभिन्न ढंगले दोहन गरिरहने र त्यसको लाभ निश्चित शासन सत्तामा बसेका संभ्रान्तहरुले भोग गर्ने देशहरु विश्वमा प्रशस्तै छन् ।

 

नेपाल पनि एउटा त्यस्तै राज्य हो भन्दा अतिशयोक्ति नहोला । विशेषगरी  २०६२/६३ को आन्दोलनले जनताको पक्षमा उठाएका राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरु क्रमश भुत्ते हुँदै जाँदा नेपाल पनि त्यस्तै असफल राज्य बन्ने संघारमा उभिएको छ भनेर छलफल हुन थालिसकेको छ, प्रबुद्ध वर्गमा । र, संघारमा उभिएको राज्यलाई अहिले राज्यसत्ताको प्रमुख र महत्वपूर्ण पदमा बसेकाहरु धकेलेर खसाल्न लागे झैं देखिन्छन् ।

 

समाजमा घट्ने विभिन्न साना–ठूला घटनाहरुले पनि असफल र असफलता उन्मुख राज्यहरुको चरित्र उजागर गरिरहन्छन् । मध्य महामारीको बीचमा सत्ता षड्यन्त्र र भ्रष्टाचारमा लिप्त हुने सरकार, प्रेम गरेको निहुँमा दलितको छोरोलाई कुटिकुटि मार्ने समाज इत्यादी त्यस्तै घटनाहरु हुन् ।

 

असफल र असफलता उन्मुख राज्यहरुमा घट्ने घटनाहरुको एउटा ज्वलन्त उदाहरण केही समयअघि लेवनानमा पनि घट्यो । यस्ता घटनाहरुको वस्तुनिष्ठ विश्लेषणले नै राज्यको रुपमा हामी कहाँ उभिएका छौं भनेर बुझ्न मद्दत पुर्याउने हुनाले जो म्याकरन द्धारा अलजजिरामा लिखित  यस लेखको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ ।

 

अगस्ट ४ तारिखका दिन लेवनानको राजधानी बेरुतमा भएको भयंकर बिस्फोट लेवनानको कुनै अत्यन्तै खराब अन्यौलभन्दा पनि सघन र चर्को परिघटना हो ।

 

अधिकारीहरुले त्यो बिस्फोटलाई २ हजार ७५० टन एमोनियम नाइट्रेटको अनुचित र गैरजिम्मेवार भन्डारणसँग लगेर जोडेका छन् । सन् २०१३ देखि गरिएको यो अनुचित भण्डारणले १३७ जना बढीको ज्यान लिएको छ भने ५ हजार मानिसहरुलाई घाइते तुल्याएको छ । यसले सहरभरी तरङ्ग फैलाएको छ र भवन र तिनका झ्यालहरुमा क्षति पुर्याएको छ ।

 

बेरुत खरानीबाट उठ्ने गरेको इतिहास बोकेको सहर हो । यो विगत ५ हजार वर्षको इतिहासमा ७ पटक ध्वस्त भएर फेरि बनेको सहर हो । तर, अहिलेको यो विध्वंश पहिलेका युद्ध, भूकम्प र आक्रमण भन्दा डरलाग्दो छ किनभने यो विध्वंश कुनै बाह्य शक्तिको कारणले भन्दा पनि लेवनानको आफ्नै सम्भ्रान्त शासकहरुको कारणले भएको हो ।

 

यो विस्फोटको कारण बेघर भएका करिब ३ लाख मानिसहरुको लागि बास र आधारभूत उपभोग्य वस्तु र सेवाको प्रबन्ध गर्न लेवनानसँग आर्थिक स्रोत छ कि छैन स्पष्ट छैन । कालान्तरमा घरेलु र अन्तर्राष्ट्रिय ऋण लिनका लागि सरकार बाध्य हुने देखिन्छ ।

 

अहिलेसम्म पनि गैरजिम्मेवार ढंगले अलपत्र छाडिएको त्यो अति प्रज्वलनशील ‘भेसल’मा केका कारण आगो लाग्यो भन्ने प्रष्ट जवाफ आइसकेको छैन । विगत ७ वर्ष देखि त्यो यसै छाडिएको थियो । तर, गत मंगलबार जे भयो त्यो एउटा सामान्य घटना मात्र चाहिँ थिएन । यो घटना लेवनानमा विद्यमान भ्रष्टाचार, अक्षमता र अनुत्तरदायीपनको डरलाग्दो अभिव्यक्ति थियो ।

 

बेरुतको वन्दरगाह सरकारको कुनै ठोस निगरानी बेगर नै सञ्चालन भइरहेको थियो । यो भन्सार विभाग र बेरुत बन्दरगाह विभागको संयुक्त व्यवस्थापनमा चलिरहेको छ । भन्सार विभाग राष्ट्रपति मिचेल आउनका विश्वासपात्रहरु र बन्दरगाह पूर्वप्रधानमन्त्री साद हरिरिका विश्वासपात्र र कर्मचारीहरुको व्यवस्थापनमा चलिरहेको छ । यी दुवै निकायको प्रविधिक नेतृत्व सरकारले गरेको छ । तर, व्यवहारमा त्यहाँ कुनै सरकारी ‘हाइरार्की’ले काम गर्दैन । दुवै निकाय आफूलाई संरक्षण गर्ने नेता वा समूहप्रति बफादार रहेका छन् ।

 

सरकारी गैरजिम्मेवारीपनको अनुसन्धान गर्ने सन्दर्भ लेवनानमा विद्यमान खराब प्रचलन र रेकर्ड हेर्दा यो दूर्घटना घटाउन जिम्मेवारहरु न्यायको कठघरामा आउने संभावना निकै न्यून छ । यो ठूलो समस्या हो किनभने यसले सर्वसाधारणहरुको सरकार प्रतिको विश्वास र भरोसा अझै खस्कनमा मद्दत पुग्छ ।

 

यो विस्फोटले लेवनानको संर्घषरत अर्थतन्त्र, धर्मराउँदो राजनीतिक यथास्थितिवाद र अन्तर्राष्ट्रिय उपस्थितिलाई पनि ध्वस्त पार्नेछ । यो विस्फोटको कारणले बेघर भएका करिब ३ लाख मानिसहरुको लागि बास र आधारभूत उपभोग्य वस्तु र सेवाको प्रबन्ध गर्न लेवनानसँग आर्थिक स्रोत छ कि छैन स्पष्ट छैन ।

 

कालान्तरमा घरेलु र अन्तर्राष्ट्रिय ऋण लिनका लागि सरकार बाध्य हुने देखिन्छ । यसले अन्तराष्ट्रिय मुद्रा कोषसँग लेवनानको ‘नेगोसियट’ गर्ने क्षमता पनि कमजोर पार्ने देखिन्छ । नतिजास्वरुप लेवनानको विद्यमान विभक्त विदेश नीति अझै गहिरो हुनेछ ।

 

बेरुत प्रतिस्पर्धी राजनीतिक समूहहरुतर्फ मद्दतका लागि झुक्नुपर्छ । अमेरिका, फ्रान्स र इरानले सहयोगका लागि प्रस्ताव गरिसकेका छन् । यसैगरी लेवनानका केही समूहले ध्वस्त बेरुत बन्दरगाहको पुनःनिर्माणका लागि चीनलाई निम्तो दिने विषय अगाडि बढाइसकेका छन् ।

 

विस्फोटको कारणले बढ्दै गरेको जनआक्रोश र विदेशी शक्तिहरुको चलखेलले लेवनानी सरकारलाई थप कमजोर बनाउने र घरेलु राजनीतिक तनावलाई थप बढावा दिने देखिन्छ ।

 

प्रधानमन्त्री हसन डियाब र उनका सर्मथकहरुले विस्फोटलाई प्रयोग गरेर पूर्वप्रधानमन्त्री सद हरिरिलाई राज्यमा कमजोर बनाउने प्रयास गर्न सक्ने देखिन्छ । हरिरिले अन्य राजनीतिक शक्तिहरुसँग मिलेर सरकार र राष्ट्रपतिलाई कमजोर पार्ने प्रयास गर्ने अभियान चलाउन सक्नेछन् । लेवनानको भ्रष्ट राजनीतिक प्रणालीको अर्को प्रमुख खेलाडी हेज्बुल्लाहले पनि यो तनावलाई आफू अनुकूल व्यवस्थापन गर्ने प्रयास गर्ने देखिन्छ ।

 

आज लेवनानीहरु पहिला कहिल्यै नभोगेको वियोगमा छन् । ध्वस्त भएको अर्थतन्त्रसँग जुध्दै र अहिले थोरै साधन र स्रोतको भरमा महामारीसँग जुधिरहेको समयमा फेरि ठूलो घाउ पुर्नुपर्ने र राजधानीको मुख्य वन्दरगाहको पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको छ । मानिसहरु थकित देखिएका छन् ।

 

लेवनानीहरुका लागि अहिले पक्कै पनि अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहिएको छ । तर, यो घटनाका प्रत्यक्ष र अप्रत्यक्ष जिम्मेवार राजनीतिक सम्भ्रान्तहरुको लागि वैदेशिक सहायता उनीहरु उम्कने उपाय बन्न दिनु हुँदैन । अन्तर्राष्ट्रिय समुदायहरुले बेरुतको विस्फोटको यो घटनालाइ मानवीय संकटको रुपमा मात्र हेरेको जस्तो देखिएको छ ।

 

अहिलेको यो घटना र आर्थिक मन्दीको सन्दर्भमा प्रश्न नगरी लेवनानी राजनीतिक प्रणालीलाई सहायता दिदाँ सामान्य लेवनानीहरुलाइ फाइदा होइन घाटा नै हुने देखिन्छ । भ्रष्ट सम्भ्रान्तहरुलाइ जवाफदेहीताबाट उम्कने ,आफ्नो जिम्मेवारी अरुलाई सार्ने र संरचनागत सुधारका लागि प्रयास नगर्ने अवसर हुनसक्छ । परम्परागत प्रणाली भन्दा बाहिरबाट पनि लेवनानलाइ सहयोग गर्ने उपायहरु हुनसक्छन् ।

 

त्यसैले यदि अन्तर्राष्ट्रिय समुदाय साँच्चै लेवनानलाई सहयोग गर्न चाहन्छन् भने उनीहरुले खाली पैसा दिएर वा अन्य सहयोग गरेर मात्र पुग्दैन, अगष्ट ४ को घटना आफ्नै राजधानी ध्वस्त पार्ने र नागरिकहरुलाइ मार्ने गैरजिम्मेवार, अक्षम र भ्रष्ट राजनीतिक प्रणाली भएको तथ्य स्वीकार्नै पर्छ ।

कोरियन कम्पनीद्वारा फास्ट ट्रयाकको सर्भे सुरु, मंसिरसम्म सुरुङ निर्माणको बोलपत्र आह्वान Read Previous

कोरियन कम्पनीद्वारा फास्ट ट्रयाकको सर्भे सुरु, मंसिरसम्म सुरुङ निर्माणको बोलपत्र आह्वान

काठमाडौंमा ९० सहित थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नजिक Read Next

काठमाडौंमा ९० सहित थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नजिक