कोरोनाका कारण विश्वका अधिकांश धनाढ्यहरुको सम्पत्ति घटिरहेका बेला भारतीय डलर अर्बपति मुकेश अम्बानीको सम्पत्ति भने निरन्तर बढीरहेको छ ।
भारतको सबैभन्दा ठूलो पूँजीकरण भएको कम्पनी रिलायन्स इंडस्ट्रीजका मालिक अम्वानीको सम्पत्ति कोरोनाकै बीच करिब १० अर्ब डलरले बढेर विश्वकै चौथो धनी व्यक्ति बनेका छन् ।
ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार मुकेश अम्बानीको सम्पत्ति ८०.६ अर्ब अमेरिकी डलर पुगेको छ । मार्चसम्म उनको कुल सम्पत्ति करिब ७० अर्ब डलर थियो ।
रिलायन्समा विदेशी साझेदारहरु भित्र्याएसँगै उनको कम्पनीको सेयर मूल्य निरन्तर बढीरहेको छ । पछिल्लो ३ महिनामा मात्रै उनले फेसबुकसहित आधादर्जन विदेशी कम्पनीले रिलायन्स प्लेटफर्मको रियोमा लगानी गरेका छन् ।
ब्लूमवर्गका अनुसार हाल अनलाइन कम्पनी अमेजनका सीईओ जेफ बेजोस १८७ अर्ब अमेरिकी डलरसहित विश्वकै सकैभन्दा धनी व्यक्तिका रुपमा रहेका छन् ।
यस्तै, माइक्रोसफ्टका बिल गेट्स १२१ अर्ब सम्पत्तिसहित विश्वकै दोस्रो धनी बनेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग १०२ अर्ब डलरसहित विश्वका तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन् । विश्वकै शीर्ष तीन धनी व्यक्तिहरु अमेरिकी नागरिक हुन् ।