बुद्ध एयरले अब सिमरामा एटीआर-७२ जहाजमार्फत उडान गर्ने

काठमाडौं । राजधानी काठमाडौंबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ ।निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरा विमानस्थलमा एटीआर जहाजको सफल परीक्षण उडान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

 

काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर गत बुधबार बुद्धएयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

 

प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गर्दै जहाजको परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ । यसअघि बुद्धका एटीआर ४२-३२० सिरिज र बीचक्राफ्ट १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेका थिए ।

 

नेपालमा बन्दाबन्दी शुरु (गत चैत ११ गते) हुनुअघि दैनिक नौ वटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्धले आगामी भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआरले उडान भर्ने योजना बनाएको छ ।

 

नेपालकै सबैभन्दा पुरानो र व्यस्त सिमरा विमानस्थलको लम्बाइ एक हजार १९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैँ भीडभाड हुने गर्दछ । बुद्धएयरसँग आठ एटीआर-७२, तीन एटीआर-४२ र दुई बीचक्राफ्ट १९०० ‘डी’ गरी १३ जहाज छन् ।

 

भदौ १ बाट हुने व्यावसायिक उडानका लागि बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । यात्रुको दोहोरो तापक्रम जाँच, ह्याण्ड स्यानेटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज र लगेज ट्रलीको सङ्क्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले दिने अधिकांश सेवा १५ दिनलाई बन्द, कर तिर्न भने ताकेता Read Previous

सरकारले दिने अधिकांश सेवा १५ दिनलाई बन्द, कर तिर्न भने ताकेता

थप ४६४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज Read Next

थप ४६४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज